काठमाडौं । काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि विद्यालय भवन निर्माण सुरु गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार वडा नं। २९ मा अभिभावक, बालबालिका र जनप्रतिनिधिको उपस्थितिमा जग पूजा गरी शिलान्यास गरिन् । वडाध्यक्ष कुश ढकाल र स्थानीयवासी पनि कार्यक्रममा सहभागी थिए ।
शिलान्यासपछि बोल्दै डंगोलले अटिजम भएका बालबालिकाका लागि स्कूल बनाउने महानगरको सपना र अभिभावकको अपेक्षा पूरा हुने चरणमा पुगेको बताइन् । ‘हामी काठमाडौंलाई समतामूलक, समावेशी, करुणा र ममता तथा मानवतामा आधारित सहर बनाउने प्रयासमा छौँ,’ उनले भनिन्, ‘यही क्रममा अटिजम भएका बालबालिकाका लागि स्कूल र अनुसन्धानका लागि भवन निर्माण गर्न लागेका हौँ ।’
अटिजम र बौद्धिक अपांगता भएका बालबालिकालाई छुट्याउन खोजिएको हो कि भन्ने लाग्न सक्ने उनले स्वीकारिन् । ‘तर, त्यसो होइन । सन्तुलित समाजका लागि फरक आवश्यकता भएका बालबालिकालाई समान सामाजिक व्यवहारका लागि योग्य बनाउन विशेष अभियान चलाएका हौँ,’ उनले भनिन् । सरकार, अभिभावक र पेशाकर्मीको साझेदारीले कार्यक्रम दिगो हुने उनको भनाइ थियो । ‘विद्यालयको भौतिक संरचना पूरा हुँदासम्म सञ्चालन कार्यविधि बनाएर प्रणालीमा आधारित कार्यक्रम सञ्चालन गर्नेछौँ,’ उनले भनिन् ।
वडाध्यक्ष ढकालले अटिजम भएका बालबालिकाले आफैँ पीडा महसुस गर्न नसक्ने, पीडा अभिभावकले बेहोर्नुपर्ने बताए । ‘अभिभावकको पीडामा साथ दिन वडासँगै स्कूल बन्नु वडावासीकै लागि पवित्र काम हो,’ उनले भने, ‘यो कामबाट अन्य स्थानीय तहले पनि अटिजम विद्यालय निर्माणमा प्रोत्साहन पाओस् ।’
वडा कार्यालयको पूर्वतर्फ ४५०।८० वर्गमिटर क्षेत्रफलमा भवन बन्नेछ । डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार १७ मिटर अग्लो भवन ५ तले हुनेछ । लम्बाइ ९२ फिट, पूर्वतर्फ चौडाइ ३५ फिट र पश्चिमतर्फ २२ फिट हुनेछ । हरेक तला ३ हजार वर्गफिटका हुनेछन् । ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित भवन कुल १८ हजार ५ सय वर्गफिटको हुनेछ ।