चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचको डिभाइडरमा दुबो रोप्न थालिएको छ। करिब ११३ किलोमिटर लामो सडकको तीन मिटर चौडा डिभाइडरमा गैँडाकोट, देवचुली, कावासोतीलगायत स्थानमा दुबो रोप्ने काम तीव्र रूपमा भइरहेको छ।
नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार कालोपत्र लगभग सकिएको छ। अहिले सर्भिस लेन र किनारका डिभाइडरमा रङरोगन, पैदलयात्रीका लागि पेटी, रेलिङ र ढलानको काम भइरहेको छ।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको पूर्वपश्चिम राजमार्ग करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो। २०७५ माघमा ठेक्का सम्झौता भएको सडक ४२ महिनाभित्र सक्नुपर्ने थियो। चार पटक म्याद थपेर करिब आठ वर्षमा गत साउनमा काम पूरा भएको खनालले बताए।
“सडक टेकओभर मात्र भएको हो, हस्तान्तरण भएको छैन। पाँच वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउँछ, त्यसपछि मात्रै हस्तान्तरण हुन्छ,” उनले भने।
चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले ग्लोबल टेन्डरमार्फत दुवै खण्डको ठेक्का पाएको थियो। गैँडाकोटदेखि दाउन्नेसम्म ६५ र दाउन्नेदेखि बुटवलसम्म ४८ किलोमिटर गरी दुई खण्डमा काम भएको हो। आयोजनामा करिब रु १७ अर्ब खर्च भएको छ। कुल बजेटको ८५ प्रतिशत रकम एसियाली विकास बैंकले १.५ प्रतिशत ब्याजदरमा ऋण दिएको हो।
कुल सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन (सर्भिस लेनसहित) र दाउन्नेको १४ किलोमिटर तीन लेनमा बनेको छ। दाउन्नेमा कालोपत्र बारम्बार बिग्रने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर सिमेन्ट कङ्क्रिट गरिएको छ।
दुर्घटना न्यूनीकरणका लागि सडकमा लेन मार्किङ, ट्राफिक र गति सीमा संकेत राखिएको छ। निगरानीका लागि स्पिड गन प्रयोग गरिने छ। खुला सडकमा अधिकतम गति ८० किमी प्रतिघण्टा, बजार र क्रसिङ क्षेत्रमा ६० किमी तथा जंगल र दाउन्नेको पहाडी क्षेत्रमा ४० किमी तोकिएको छ।
सडक विस्तारका क्रममा ४९ हजार ८३० रुख काटिएका थिए। सडकमा २१ ठूला पुल, ४३ साना पुल र ४६ कल्भर्ट बनेका छन्।