भक्तपुुर । सूर्यविनायक नगरपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ । नगर प्रमुख बासुदेव थापाले एक विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्नुपर्नेमा जोड दिए त्यसैगरी, नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताए । उनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण अवसर प्रदान गर्ने धारणा राख्ो ।
कार्यक्रममा नगर प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ६ का वडाध्यक्ष ईश्वर खड्का, सामाजिक विकास महाशाखा प्रमुख रत्न कटवाल तथा नगर खेलकुद समितिका सदस्यसचिव दीपक थापालगायतले पनि मन्तव्य राखेका थिए ।
उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले मार्चपास प्रस्तुत गरेका थिए। कार्यक्रममा नगरपालिकाका अन्य वडाध्यक्ष तथा जनप्रतिनिधि, खेलकुदसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
मंसिर ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सूर्यविनायक नगरपालिकाभित्रका विभिन्न विद्यालयका ७०० भन्दा बढी विद्यार्थी सहभागी हुँदैछन्। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, कराते र तेक्वान्दो विधा समावेश छन्। उद्घाटन समारोह सम्पन्न भएसँगै प्रतियोगिताका खेलहरू भोलिदेखि भलिबल विधाबाट सुरु हुनेछन् ।