सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नं. ४ र ५ को सीमा समस्या समाधान तथा थप वडा कायम गर्ने प्रस्तावका सन्दर्भमा महत्वपूर्ण पहल भएको छ।
आवश्यक प्रक्रिया पूरा गरी फाइल अघि बढेपछि आज प्रतिनिधिमूलक टोलीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेटघाट गरी छलफल गरेको छ।
लामो समयदेखि स्थानीय चासो र सरोकारको विषय बन्दै आएको यस समस्याबारे स्थानीय तहदेखि जिल्ला, प्रदेश हुँदै सङ्घीय तहसम्म निरन्तर पहल र समन्वय भइरहेको पत्रकार हरिवल्लभ नेपाले बताए ।
भेटमा मन्त्री रावलले विषयप्रति सकारात्मक धारणा राखेको प्रतिनिधिहरूले बताएका छन्।
नेपालका अनुसार भेटघाटको समन्वय र सहजीकरण राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले गरेका थिए। विभिन्न राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित वडाका जनप्रतिनिधि तथा गाउँपालिका र प्रदेश तहका पदाधिकारीले पनि प्रक्रियामा साथ र सहयोग गरेका छन्।
प्रतिनिधिहरूले यो कुनै व्यक्ति वा दलविशेषको मुद्दा नभई नागरिकको साझा सरोकार भएको बताए। राजनीतिक आस्था र दलगत सीमाभन्दा माथि उठेर गरिएको सामूहिक प्रयासले नै उचित निकास दिने विश्वास उनीहरूले व्यक्त गरे।
सबैको एकता, सहकार्य र निरन्तर पहलबाट सीमा समस्या समाधान तथा थप वडा प्रस्तावले यसपटक सार्थक निष्कर्ष पाउने अपेक्षा गरिएको छ।