काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणअन्तर्गत निर्मित अमलेखगञ्ज टर्मिनल हस्तान्तरण गरिएको छ। झापामा नयाँ ग्रीनफिल्ड आयल स्टोरेज टर्मिनलको शिलान्यास पनि गरिएको छ।
दोस्रो चरणअन्तर्गत ४ हजार १०० किलोलीटर क्षमताका दुईवटा पेट्रोल ट्याङ्क, २४-बेको स्वचालित ट्याङ्क–ट्रक लोडिङ ग्यान्ट्री, टर्मिनल अटोमेसन सिस्टम, गुणस्तर नियन्त्रण प्रयोगशाला तथा अग्नि नियन्त्रण सुविधाको निर्माण र स्तरोन्नति गरिएको छ। परियोजना सम्पन्न भएसँगै अमलेखगञ्ज नेपालको पहिलो अत्याधुनिक पेट्रोलियम टर्मिनल बनेको छ।
नेपाल सरकार र भारत सरकारबीच सन् २०१५ मा भएको G2G सम्झौता तथा नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीचको B2B सम्झौताअनुसार परियोजना निर्माण गरिएको हो।
झापामा शिलान्यास गरिएको टर्मिनलअन्तर्गत भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो ८ इन्च व्यासको पाइपलाइन निर्माण गरिनेछ। पाइपलाइनको ३६ किलोमिटर भारततर्फ र १४ किलोमिटर नेपालतर्फ पर्नेछ।
परियोजनाअन्तर्गत पेट्रोलका लागि ६ हजार ६०० किलोलीटर र डिजेलका लागि १२ हजार ३०० किलोलीटर क्षमताका भर्टिकल ट्याङ्कसहितको टर्मिनल बनाइनेछ। यो परियोजना भारत सरकारको पूर्ण अनुदानमा निर्माण हुनेछ।
यी परियोजनाले पेट्रोलियम पदार्थको भण्डारण क्षमता, आपूर्ति व्यवस्थापन र वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
अमलेखगञ्ज र झापामा भएका कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, भारतीय दूतावास र इण्डियन आयल कर्पोरेसनका प्रतिनिधि, सुरक्षा निकाय, नेपाल आयल निगमका पदाधिकारी, पेट्रोलियम व्यवसायी तथा सञ्चारकर्मीको उपस्थिति थियो।