काठमाडौं । भारतले नेपालको विकास र पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता घोषणा गरेका हुन् ।
यसअन्तर्गत ५ हजार ६०० करोड नेपाली रुपैयाँ बराबर अनुदान र १८ हजार ४०० करोड रुपैयाँ बराबर भारतीय रुपैयाँमै भुक्तानी हुने ऋण उपलब्ध गराइनेछ । अनुदान बाढीपछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ भने ऋण ऊर्जा क्षेत्रका परियोजनाका लागि उपयोग हुनेछ । कुन परियोजनामा कति रकम परिचालन गर्ने र सहायता उपलब्ध गराउने प्रक्रिया भने दुवै देशबीचको परामर्शबाट टुंगो लगाइने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा सोमबार जारी संयुक्त प्रेस विज्ञप्तिले नेपाल–भारत विकास साझेदारीमा आर्थिक सहायता, ऊर्जा, पूर्वाधार, व्यापार र सम्पर्क सञ्जाल विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ । दुवै देशका प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ साझा दृष्टिकोणपत्रसमेत स्वीकार गरेका छन् ।