काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणको समापनमा दुई देशबीच संयुक्त विज्ञप्ति जारी भएको छ । विज्ञप्तिअनुसार विकास सहायता, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र प्रविधिलगायतका क्षेत्रमा महत्वपूर्ण सहमति तथा सम्झौताहरू भएका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहको पदभार ग्रहणपछिको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा जारी गरिएको संयुक्त प्रेस वक्तव्यअनुसार दुई देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सहयोग, क्षेत्रीय चासो र विश्वव्यापी घटनाक्रमका विषयमा विस्तृत छलफल भयो ।
दुई देशका प्रधानमन्त्रीले भविष्यमुखी साझेदारीको मार्गचित्रका रूपमा ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा दृष्टिकोण अङ्गीकार गरेका छन् । यसले आर्थिक, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धका साथै जलवायु अनुकूलन, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा सहकार्यको ढोका खोलेको छ ।
प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने प्रतिबद्धता जनाउँदै नेपालका लागि १५ हजार करोड भारतीय रुपैयाँ (२४ हजार करोड नेपाली रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरे । यसमध्ये ३ हजार ५ सय करोड भारु (५ हजार ६ सय करोड नेरु) विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान हुनेछ । बाँकी ११ हजार ५ सय करोड भारु (१८ हजार ४ सय करोड नेरु) ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) हुनेछ।
भारतको अनुदान सहायतामा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको स्वागत गरिएको छ । दुई नेताले उच्च प्रभाव सामुदायिक विकास परियोजना र भारतकै सहयोगमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रतिष्ठानको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन् ।
हवाई मार्ग दोहोरो बनाइने, गुजरात र उडिसाका बन्दरगाहमा पहुँच
नेपालको हवाई र जलमार्ग कनेक्टिभिटी विस्तारका लागि दुई महत्त्वपूर्ण निर्णय भएका छन् । हाल एकतर्फी मात्र रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी (दोहोरो) बनाउने सहमति भएको छ । यसका प्राविधिक पक्ष टुङ्ग्याउन छिट्टै प्राविधिक परामर्श गरिनेछ।
प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातको काण्डलास्थित दीनदयाल बन्दरगाह प्रयोगको नयाँ मार्ग उपलब्ध गराउने घोषणा गरेका छन् । साथै, आवश्यक पूर्वाधार तयार भएपछि उडिसाको पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच दिइनेछ ।
अयोध्या–जनकपुर ‘सरयु–कमला एक्सप्रेस’ रेल उद्घाटन र रक्सौल–काठमाडौं रेलमार्ग
दुई प्रधानमन्त्रीले अयोध्या र जनकपुरधामबीच चल्ने ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा हरियो झण्डा देखाएर उद्घाटन गरे । यसले रामायण सर्किटअन्तर्गत धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । दुवै नेताले बौद्ध र शिव–शक्ति धार्मिक पर्यटन सर्किटमा पनि यस्तै कनेक्टिभिटी खोज्ने सहमति गरेका छन् ।
प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको ‘फिल्ड लोकेसन सर्वेक्षण’ सम्पन्न भएको घोषणा गरिएको छ भने नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ ।
सीमा पूर्वाधार, पेट्रोलियम पाइपलाइन र सीमा विषय
दुवै नेताले वनबासामा नयाँ एकीकृत जाँच चौकी (आइसीपी) को भर्चुअल शिलान्यास गरेका छन् भने भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन आईसीपीहरूको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन् ।
पश्चिम नेपाल र भारतबीचको सिधा सम्पर्कका लागि धार्चुला (भारत) र दार्चुला (नेपाल) जोड्ने नयाँ मोटरेबल पुलको उद्घाटन गरिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गरिएको छ । झापामा पेट्रोलियम टर्मिनलको भर्चुअल शिलान्यास गर्दै सिलिगुडी–झापा पाइपलाइनको काम छिट्टै सुरु गर्न र ग्यास पाइपलाइन निर्माणमा सहकार्य खोज्न सहमति भएको छ ।
सीमा स्तम्भहरूको मर्मतसम्भारमा भएको प्रगतिको प्रशंसा गर्दै बाँकी रहेका सीमासम्बन्धी विषयहरू सुल्झाउन दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ ।
विद्युत् क्षेत्रको सहकार्यअन्तर्गत ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ । दुवै नेताले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै टुङ्ग्याएर निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर कार्यलाई पनि तीव्रता दिने सहमति भएको छ । इनरुवा–न्यु पूर्णिया र दोदोदारा–बरेली उच्च क्षमताको अन्तरदेशीय प्रसारण लाइनका लागि संयुक्त उपक्रम (झेभी) गठनमा भएको प्रगतिप्रति पनि सन्तोष व्यक्त गरिएको छ ।
नेपालमा आईआईटी क्याम्पस स्थापना र बैंकिङ–टेलिकम सहजता
शिक्षा र प्रविधि क्षेत्रमा फड्को मार्ने गरी भारतले नेपालमा आईआईटीको अफ–शोर क्याम्पस स्थापना गर्ने सहमति भएको छ । यसले नेपालको शिक्षा र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ । साथै, एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकका लागि बैंकिङ र टेलिकम जस्ता सेवाहरूमा सहज पहुँच उपलब्ध गराउन दुवै पक्ष सहमत भएका छन् । भ्रमणका क्रममा विभिन्न ८ वटा विषयमा समझदारीपत्र आदानप्रदान भएका छन् ।
विज्ञप्तिको नेपाली भावानुवाद
भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्री सम्माननीय श्री बालेन्द्र शाहले मिति २०२६ नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण सम्पन्न गर्नुभयो। उहाँको साथमा एक उच्चस्तरीय आधिकारिक प्रतिनिधिमण्डल सहभागी थियो। पदभार ग्रहण गरेपश्चात् प्रधानमन्त्री बालेन्द्र शाहको यो पहिलो भारत भ्रमण हो।
२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा सम्मान गारदसहित औपचारिक स्वागत गरिएको थियो। उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतका सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नुभयो। यसैगरी, भारतका विदेश मन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभयो।
३. प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग द्विपक्षीय वार्ता गर्नुका साथै उहाँको सम्मानमा दिवाभोजको आयोजना गर्नुभयो। दुई नेताबीच भएको छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्रहरू, पारस्परिक हितका क्षेत्रीय विषयहरू तथा विश्वव्यापी समसामयिक घटनाक्रमहरूमाथि विचारविमर्श भएको थियो।
४. नेपालमा ठुलो जनधनको क्षति पुर्याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछिको अवस्थामा भारतले पुर्याएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले सराहना गर्दै आभार व्यक्त गर्नुभयो।
५. प्रधानमन्त्री मोदीले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो। भारतले नेपालको विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाहरूका लागि भारु ३,५०० करोड (नेरु ५,६०० करोड) अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि भारु ११,५०० करोड (नेरु १८,४०० करोड) को भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) गरी कुल भारु १५,००० करोड (नेरु २४,००० करोड) बराबरको विकास सहायता उपलब्ध गराउनेछ। विकास सहायता उपलब्ध गराइने विशिष्ट परियोजनाहरू र त्यसको कार्यविधि आपसी परामर्शमार्फत टुङ्गो लगाइनेछ।
६. दुवै नेताले नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) लगायतका अन्य विकास परियोजनाहरूको कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँहरूले भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण कार्यमा हासिल भएको प्रगतिको समीक्षा गर्नुभयो। साथै, दुवै नेताले भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको स्वागत गर्नुभयो।
७. दुवै नेताले “विकसित भारत र समुन्नत नेपाल” का लागि एक संयुक्त दृष्टिकोण (Joint Vision) अङ्गीकार गर्नुभयो। यस संयुक्त दृष्टिकोण वक्तव्यले भारत र नेपालबीचको महत्त्वाकाङ्क्षी र भविष्योन्मुख साझेदारीका लागि मार्गचित्र प्रदान गरेको छ। यसमा आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया रहेका द्विपक्षीय सहकार्यका क्षेत्रहरूलाई अझ सुदृढ बनाउने पहलका साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्ट–अप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका आयामहरू समेटिएका छन्।
८. दुवै नेताले सम्पर्क सञ्जाल विस्तार गर्ने र द्विपक्षीय आर्थिक संलग्नतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नागरिक उड्डयनका विषयमा भइरहेका जारी छलफलहरूको समीक्षा गर्नुभयो। हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको B345 काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा कार्यविधि तय गर्न तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्शहरू गरिनेछन्।
९. प्रधानमन्त्री मोदीले दीनदयाल बन्दरगाह (काण्डला, गुजरात) मार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ सम्पर्क मार्गको घोषणा गर्नुभयो। यसका साथै, आवश्यक पूर्वाधार तयार भएपश्चात् पारादीप बन्दरगाह (ओडिशा) सम्मको पहुँच पनि उपलब्ध गराइनेछ।
१०. दुवै नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) र पेट्रोलियम पाइपलाइनहरूको निर्माणमार्फत सीमापार सम्पर्क सञ्जाल सुदृढ पार्ने तथा सीमा क्षेत्रका पूर्वाधारको स्तरोन्नति गर्ने महत्त्वमाथि जोड दिनुभयो।
११. दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने पहिलो ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको हरियो झन्डा देखाई शुभारम्भ गर्नुभयो। यस रेल सेवाले आवागमनमा सहजता ल्याउनुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने र भारत तथा नेपालबीचको सभ्यतागत सम्बन्धलाई थप बलियो बनाउनेछ। नेताहरूबीच बौद्ध र शिव–शक्ति धार्मिक पर्यटन सर्किटको विकासका लागि पनि यस्तै किसिमका सम्पर्क सञ्जालको सम्भावना खोजी गर्ने सहमति भयो।
१२. दुवै नेताले प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीकृत ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षणले अन्तिम रूप पाएको घोषणा गर्नुभयो। साथै, नेपालको पूर्व–पश्चिम रेलमार्गको विकासमा दुवै पक्षले सहकार्य गर्ने घोषणा समेत गर्नुभयो।
१३. दुवै नेताले वनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को भर्चुअल माध्यमबाट शिलान्यास गर्नुका साथै भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन आईसीपीहरूको प्रगतिप्रति स्वागत व्यक्त गर्नुभयो। भारत र नेपालबीच हाल तीनवटा आईसीपी सञ्चालनमा रहेका छन्।
१४. नेताहरूले धार्चुला (भारत) र दार्चुला (नेपाल) जोड्ने नयाँ सीमापार मोटर गुड्ने (मोटरेबल) पुलको उद्घाटन गर्नुभयो। यसले पश्चिमी नेपाल र भारतबीचको प्रत्यक्ष सम्पर्क सञ्जाल सुधार गर्न मद्दत पुर्याउनेछ।
१५. दुवै नेताले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त क्षेत्रीय कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा कार्य गर्न परराष्ट्र/विदेश सचिवहरूलाई निर्देशन दिनुभयो।
१६. भारत र नेपालबीचको सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा दुवै नेताले मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गर्नुभयो। दुवै नेताले नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल माध्यमबाट शिलान्यास गर्नुका साथै सिलिगुडी र झापाबीचको पेट्रोलियम पाइपलाइनको काम छिटो सुरु गर्ने महत्त्वमाथि जोड दिनुभयो। भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणका क्षेत्रमा सहकार्यको सम्भावना खोज्न दुवै पक्ष सहमत भएका छन्।
१७. ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण दस्तावेज र दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्। नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको स्वागत गर्दै दुवै पक्षले भारतीय कम्पनीहरूले नेपालमा विकास गरिरहेका विभिन्न जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गर्ने सुनिश्चितता गर्न सहमति जनाएका छन्। सोही अवसरमा दुवै नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो।
१८. दुवै नेताले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई शीघ्र अन्तिम रूप दिई आयोजना कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिनुभयो। पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको डीपीआरको कामलाई तीव्रता दिनुपर्ने आवश्यकतामा पनि दुवै नेताबीच सहमति भएको छ।
१९. इनरुवा (नेपाल)–न्यु पूर्णिया (भारत) र दोदोधारा (नेपाल)–बरेली (भारत) बीचका दुई उच्च क्षमताका सीमापार प्रसारण लाइनहरू निर्माणका लागि संयुक्त उपक्रम (Joint Venture) गठन गर्ने सम्बन्धमा भएको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्।
२०. नेपाललाई भारतले प्रदान गर्दै आएको विकास तथा क्षमता अभिवृद्धि सहयोगलाई विस्तार गर्दै भारतले नेपालमा आईआईटी (IIT) को वैदेशिक (अफ–शोर) क्याम्पस स्थापना गर्ने विषयमा दुवै नेताबीच सहमति भएको छ। यसले नेपालको शिक्षा क्षेत्रमा गुणात्मक फड्को मार्ने आधार प्रदान गर्नुका साथै रोजगारी सिर्जनालाई समेत प्रवर्द्धन गर्नेछ। दुवै नेताले स्टार्ट–अप तथा डिजिटल र वित्तीय सम्पर्क सञ्जाललगायत प्रविधिको क्षेत्रमा भारत र नेपालबीच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो।
२१. एक देशमा बसोबास गरिरहेका अर्को देशका नागरिकहरूका लागि बैंकिङ र दूरसञ्चारलगायतका सेवाहरूमा सहज पहुँचको पारस्परिक सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकतालाई दुवै पक्षले स्वीकार गरेका छन्।
२२. भ्रमणका क्रममा दुवै पक्षबीच देहायबमोजिमका समझदारीपत्रहरू (MoUs) आदानप्रदान गरिए:
(क) भारतको गान्धीनगर, गुजरातस्थित राष्ट्रिय विधि विज्ञान विश्वविद्यालय (National Forensic Sciences University) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र।
(ख) भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (RRU) र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठान (NPA) बीचको समझदारीपत्र।
(ग) नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमका सम्बन्धमा भारत सरकारको प्रशासनिक सुधार तथा जनगुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र (NCGG) र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीचको समझदारीपत्र।
(घ) आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्र।
(ङ) दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन (SATCOM) सञ्जाल स्थापना गर्ने सम्बन्धमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ISRO) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालय (MOIC) बीचको समझदारीपत्र।
(च) दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्र।
(छ) स्वास्थ्य तथा चिकित्साका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीचको समझदारीपत्र।
(ज) पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्र।
२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यताका लागि भारतका प्रधानमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभयो। भारतीय प्रधानमन्त्रीले उक्त निमन्त्रणा सहर्ष स्वीकार गर्नुभएको छ र भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यममार्फत तय गरिनेछ।
२४. भारत–नेपाल साझेदारी सबै तहमा रहेको गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित छ र यो बलियो जनस्तरको सम्बन्धका साथै घनिष्ठ आर्थिक तथा विकास सहकार्यबाट थप सुदृढ भएको छ। यस भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा र यसलाई अझ अगाडि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
२३ नोभेम्बर २०२६
नयाँ दिल्ली