काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । केही हप्ता अघि मात्रै विश्व सम्पदा क्षेत्र बसन्तपुरबाट सम्पदा यात्रा गर्दै सुरु ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न गरेको काठमाडौँ महानगरपालिकाले त्यस लगत्तै ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्न लागेको हो ।
स्थानीय तहमा जलवायु परिवर्तनको असर घटाउन तथा अनुकूलनको प्रयासका लागि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्न लागेको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले जानकारी दिइन् ।
‘जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ । त्यसबाट हामी कुनै न कुनै हिसावले प्रभावित छौँ,’ कार्यवाहक मेयर डङ्गोलले भनिन्, ‘हामीले फेर्ने श्वासदेखि पिउने पानी अनि हामी बस्ने सहरसम्म जलवायुबाट प्रभावित छ ।’
उनले त्यसको नकरात्मक असर सबैको जीवनमा परिरहेको भन्दै अब पनि गरौँला–हेरौँला भनेर बस्ने समय नभएकाले कार्यमै जानुपर्छ भनेर जलवायु कार्य सप्ताहको आयोजना गरेको जानकारी दिइन् ।
‘हामीले गर्नुपर्ने कार्यलाई पछाडि धकेल्नु हुँदैन, गरौँला–हेरौँला भन्ने फुर्सद हामीसँग छैन । त्यसैले हामीले कामनै गर्नुपर्छ भनेर ‘कार्य सप्ताह’ भनेको हो,’ उनले भनिन्, ‘यसको अर्थ हेरौँला–गरौँला होइन कामनै गरौँ भन्ने हो । यो एक हप्ताको कार्यक्रममा काठमाडौँ महानगरपालिकाले केही न केही नयाँ कार्यको थालनी गर्दै छ ।’
‘पहिलो दिन भोटेकोशी बाढी प्रभावित जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका कुरा सुन्छौँ । त्योसँगै हामी उद्घाटनकै दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौंँ अभियान’को थालनी गर्छौँ,’ उनले भनिन्, ‘ काठमाडौंँ महानगरपालिका भरिका विद्यालयहरुमा कहाँ–कहाँ रिचार्ज गर्न सकिन्छ भनेर हामीले अनुसन्धान गरिसकेका छौँ । त्यहीअनुसार अघि बढ्छौँ ।’
उनले दोस्रो दिन ‘जलवायु वित्त’ बारे विज्ञहरुसँग विचार मन्थनको कार्यक्रम रहेको जानकारी दिइन् । दोस्रो दिनको कार्यक्रममा जलवायु अनुकुलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋण पत्र, सरकारी वित्तीय स्रोत तथा निजी क्षेत्रको लगानी परिचालनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
तेस्रो दिन ‘नागरिक विज्ञान तथा सम्पदा र जलवायु परिवर्तनका असर’ विषयमा केन्द्रित भएर मनथन गर्ने जानकारी उनले दिइन् । ‘परम्परागत हिटी प्रणालीको संरक्षणका बारेमा हामी तेस्रो दिन विचार विमर्श गर्छौँ,’ उनले भनिन्, ‘ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण तथा पानीको गुणस्तर परीक्षण सम्बन्धी प्रदर्शन सम्पदा, जलवायु परिवर्तन र सामुदायिक ज्ञानका विषयमा विज्ञ, अनुसन्धानकर्ता युवा तथा स्थानीय समुदायबीच विमर्श पनि तेस्रो दिनमा रहेको छ ।’
उनले चौथो दिन ‘ऊर्जा प्रणाली र जलवायु परिवर्तन’ विषयमा मनथन गरिने जानकारी दिइन् । ‘चौथो दिन स्वच्छ ऊर्जा, विद्युतीय सवारी साधनको प्रयोग, ऊर्जा भण्डारण प्रविधि तथा फोहरमैला व्यवस्थापनका विषयमा समानान्तर सत्र सञ्चालन हुनेछ,’ उनले भनिन्, ‘त्यही दिन टेकुमा रहेको बायो ग्याँस प्लान्टको उद्घाटन गर्ने तथा सफा टेम्पो र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्धन गर्ने सम्बन्धी सत्रहरु सञ्चालन हुनेछन् ।’
पाँचौँ दिन ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाउने उनले जानकारी दिइन् । पाँचौँ दिन ५० वटा भन्दा बढी विद्यालयमा एकैपटक फोहरको वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायु खेल, वृक्षरोपण योजना तथा सिर्जनात्मक सचेतना तथा कार्यमूलक गतिविधि सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिइन् ।
विद्यार्थी मार्फत् प्रवर्धित नविन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधि प्रदर्शनीमा राखिने पनि उनले जानकारी दिइन् ।
जलवायु परिवर्तनका घटना र त्यसले भविष्यमा पर्नसक्ने जोखिमको सामना गर्न तयार हुने नवपुस्तालाई मध्यनजर गरी ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता आयोजना गरिएको पनि जानकारी दिइन् ।
‘हामीले त्यसका लागि काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययन गरिरहेका बालबालिकालाई यसमा सहभागी हुन आह्वान गरेका छौँ,’ उनले भनिन, ‘यो प्रतियोगिताका विजेतालाई ५० हजार रुपियाँसहित पुरस्कृत गरिनेछ ।’
यस्तै दोस्रो हुनेलाई ३० हजार रुपियाँ, तेस्रो हुनेलाई २० हजार रुपियाँ र सान्वना स्थान हासिल गर्ने ७ जनालाई जनही १० हजार रुपियाँसहित पुरस्कृत गरिने महानगरपालिकाले जानकारी दिएको छ ।
यसरी स्थान हासिल गर्ने १० जनालाई ‘काठमाडौँ महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’ को उपाधि प्रदान गरेर वर्षभरि नै जलवायुका लागि बालबालिकाको सिर्जनात्मक भूमिकालाई सक्रिय बनाउने तयारी महानगरपालिकाको छ ।
छैटौँ दिन ‘खाद्य प्रणाली र जलवायु परिवर्तन’ विषयमा र सातौँ तथा अन्तिम दिन ‘जलवायु परिवर्तनका असर घटाउन नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्व’ विषयमा कार्यक्रम केन्द्रित हुने उनले जानकारी दिइन् ।