काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले भिड नियन्त्रण भनेको नागरिकसँग भिड्नु वा द्वन्द्व बढाउनु नभई परिस्थिति नियन्त्रणमा लिई शान्ति र सुव्यवस्था कायम गर्नु हो भनेका छन् । सशस्त्र प्रहरी बल नेपालको दंगा नियन्त्रण रेजिमेन्टले आइतबार तयार पारेको डेमोन्स्ट्रेसनका क्रममा उनले जुनसुकै अवस्थामा पनि संगठनले व्यावसायिक दक्षता, निष्पक्षता र कानुनसम्मत कार्यशैली कायम राख्नुपर्ने बताए ।
सशस्त्र प्रहरी ऐन, २०५८ अनुसार दंगा नियन्त्रण बलको प्रमुख कार्यादेश भएको स्मरण गराउँदै उनले शान्तिपूर्ण प्रदर्शन अचानक उत्तेजित भई आगजनी, तोडफोड, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति र सुरक्षाकर्मीमाथि आक्रमणसम्म हुन सक्ने जोखिम रहेको बताए । त्यसैले सुरक्षा फौज उच्च सतर्क रहनुपर्ने उनको भनाइ थियो ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक सूचना, अफवाह र घृणात्मक अभिव्यक्तिले भिडलाई अझ उग्र बनाउन सक्ने भन्दै उनले सूचना सङ्कलन र विश्लेषण प्रणाली प्रभावकारी बनाउन निर्देशन दिए । सुरक्षा जोखिमको पूर्वमूल्याङ्कन गरी सोही अनुसार रणनीति बनाउन उनले सबै कमान्डरलाई भने ।
तिहार र छठपछि आउन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सम्भावित घटनाका प्रत्यक्ष÷अप्रत्यक्ष योजनाकार र समर्थकको सूक्ष्म पहिचान गर्नुपर्ने उनले जोड दिए ।
हुल र दंगा व्यवस्थापनमा न्यूनतम बल र अधिकतम संयम अपनाउनुपर्ने उनको निर्देशन थियो । मैदानमा खटिने सुरक्षाकर्मीले कुनै पनि अवस्थामा ‘ओभर रियाक्ट’ नगर्न र व्यक्तिगत आवेग, उत्तेजना वा पूर्वाग्रहबाट मुक्त भई काम गर्न उनले भने ।
बल प्रयोग गर्दा आवश्यकता, समानुपातिकता, कानुनी आधार र न्यायिक जवाफदेहिता ध्यानमा राख्दै स्थानीय प्रशासन ऐनको पूर्ण पालना गर्नुपर्ने उनले बताए । बल प्रयोग अन्तिम विकल्प मात्र हुनुपर्ने र सम्भव भएसम्म गैरघातक तथा कम घातक हतियार र प्रविधि प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
उनले दंगा नियन्त्रणका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष संवेदनशील हुन पनि निर्देशन दिए । नियन्त्रणमा लिइएका वा घाइतेसँग मानवीय व्यवहार गर्दै सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेल, नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति, दंगा नियन्त्रण रेजिमेन्टका कमाण्डर लगायत अधिकृत तथा जवानको उपस्थिति थियो ।