काठमाडौँ । बोधिसत्व इन्टरनेसनलको आयोजनामा प्रसिद्ध पौभाः (नेवाः परम्परागत) चित्रकार समुन्द्रमान सिंह श्रेष्ठको कलाकृति तथा सङ्ग्रह समावेश ‘एम्बोडिड इनलाइटन्मेन्ट’ प्रदर्शनीको पुनः आयोजना हुने भएको छ । सन् २०१६ को ऐतिहासिक पहिलो संस्करणको १० वर्ष पूरा भएको अवसरमा आयोजना गर्न लागिएको यो वार्षिकोत्सव प्रदर्शनीको उद्घाटन पूर्वयुवराज्ञी हिमानी शाहबाट हुने भएको छ ।
आयोजकका अनुसार ललितपुरको कुपण्डोलस्थित पूर्ण म्युजियम तथा बोधिसत्व ग्यालेरीमा आयोजना हुने सो विशेष कार्यक्रमको आधिकारिक उद्घाटन आगामी आइतबार (तदनुसार नोभेम्बर १५, २०२६) अपराह्न ५ बजे तय गरिएको छ ।
प्रदर्शनीमा कलाकार समुन्द्रमान सिंह श्रेष्ठका पुराना चर्चित कलाकृतिहरूसँगै नयाँ सिर्जनाहरू पनि समावेश गरिनेछ। साथै, नेवाः कलाको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएकी अञ्जना शाक्य तथा स्व. पूर्णमान शाक्यको स्थायी सङ्ग्रहका कलाकृतिहरू पनि प्रदर्शनीमा राखिनेछ।
बोधिसत्व इन्टरनेसनलका निर्देशक प्रज्वलमान शाक्यका अनुसार नेवाः कला परम्परा, सङ्ग्रहकर्ताको सोच र कलाकारको एक दशक लामो कलात्मक यात्रालाई पुनः अवलोकन गर्ने अवसरका रूपमा यो प्रदर्शनी सञ्चालन गर्न लागिएको हो।
प्रदर्शनीसम्बन्धी विवरण:
उद्घाटन: कात्तिक ३०, २०८३ (नोभेम्बर १५, २०२६), आइतबार, अपराह्न ५:०० बजे
सार्वजनिक अवलोकन: मङ्सिर १, २०८३ (नोभेम्बर १६, २०२६) देखि दैनिक दिउँसो १२:०० देखि साँझ ७:०० बजेसम्म (साताको सातै दिन)
स्थान: पूर्ण म्युजियम तथा बोधिसत्व ग्यालेरी, कुपण्डोल, ललितपुर
आयोजक संस्थाले सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दै मिडिया समन्वयका लागि पूर्वजानकारी गराउन अनुरोध गरेको छ।