– श्याम लम्साल
ऊ पृथ्वीको गोदमा जन्म्यो
गोरखनाथको आर्शीवाद थाप्यो
जसले कुलपितृको बिँडो थाम्यो
पिताको पथलाई फराकिलो बनाउँदै
टिष्टा र सतलजको सिमाना बाँध्यो
गंगाको मैदानमा पनि
चन्द्रसूर्य अंकित झण्डा फहर्यायो
मानसरोवर, हिमवतखण्डमा
सभ्यता, संस्कृति र मूल्यमान्यताको
पदचाप छाड्यो
पूर्खाको विरासत थाम्यो
चन्द्रसूर्यको पहिचान र इज्जत राख्यो
तथापि,
ऊ किन एक्लो वृहस्पति भयो ?
एक्लो वृहस्पति झुट्टा हुँदा
पृथ्वीको आत्मा रोयो कि रोएन होला ?
कि हामी जन, जन्तु र जन्तीकै युगमा छौँ त ?
इतिहासको निमर्म समिक्षा गर्नुपर्ने पो हो कि ?
चण्डिका तीर्थाश्रम, दिङ्ला, भोजपुर