काठमाडौं। नेपाल र लाओसबीचको व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्नुपर्ने जोडदार माग उठेको छ। दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य अघि बढाउनुपर्ने विषयमा जोड दिइएको हो।
नेपालका लागि लाओसका अवैतनिक वाणिज्यदूत राजु श्रेष्ठले नवनियुक्त लाओसी राजदूत भिथाया सायाभोङको सम्मानमा आयोजित स्वागत कार्यक्रममा यस्तो धारणा राखे। कार्यक्रममा उनले दुई देशबीच सहकार्यका नयाँ सम्भावनालाई अघि बढाउनुपर्ने बताए।
श्रेष्ठले साझा बौद्ध सम्पदालाई द्विपक्षीय सम्बन्ध विस्तारको महत्त्वपूर्ण आधार भएको उल्लेख गरे। लुम्बिनीमा लाओसको बुद्ध मन्दिर निर्माणका लागि लाओस सरकार र सम्बन्धित निकायको सहयोग र समन्वय आवश्यक रहेको उनको भनाइ थियो। नेपाल सरकारले मन्दिर निर्माणका लागि लुम्बिनीमा जग्गा उपलब्ध गराइसकेको जानकारी दिँदै उनले उक्त परियोजनालाई दुई देशबीचको मित्रताको स्थायी प्रतीक बनाउनुपर्ने बताए।
लामो समयदेखि रोकिएको नेपाल–लाओस चेम्बर अफ कमर्स गठन प्रक्रिया अघि बढाउन आफू इच्छुक रहेको उनले बताए। दुवै देशका व्यवसायीको सहभागितामा व्यापार, लगानी र पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने उनको धारणा थियो।
उनले दुई देशका नागरिकबीच एकअर्काको संस्कृति, परम्परा र जीवनशैलीबारे जानकारी र अनुभव आदानप्रदान बढाउनुपर्नेमा पनि जोड दिए। जनस्तरको सम्बन्धले कूटनीतिक मित्रतालाई थप अर्थपूर्ण बनाउने उनको भनाइ थियो।
नेपालका चर्चित आँखा चिकित्सक डा. सन्दुक रुइत र तिलगंगा आँखा प्रतिष्ठानले लाओसमा गर्दै आएको सेवा तथा सहकार्यलाई श्रेष्ठले दुई देशबीचको मित्रताको उत्कृष्ट उदाहरण भने। स्वास्थ्य सेवामार्फत जनस्तरमा सम्बन्ध विस्तार भएको उनले उल्लेख गरे। उनले नवनियुक्त राजदूत सायाभोङलाई सफल कार्यकालको शुभकामना दिँदै सम्बन्धलाई थप उचाइमा पुर्याउन अवैतनिक वाणिज्यदूतको कार्यालयले निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
राजदूत सायाभोङले सम्मानका लागि धन्यवाद दिँदै नेपाल र लाओसबीच धेरै समानता रहेको बताइन्। दुवै देशमा पहाड र प्राकृतिक सम्पदाको समानता रहेको उल्लेख गर्दै उनले पर्यटन र व्यापार क्षेत्रमा सहकार्य विस्तार गर्न आफू उत्साहित रहेको बताइन्। यस्तो सहकार्यले दुवै देशलाई लाभ पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा डा. रुइतले पनि दुई देशको साझा प्राकृतिक तथा सांस्कृतिक सम्पदाबारे चर्चा गरे। दुवै देशमा ऐतिहासिक सम्पदा र पहाड रहेको उल्लेख गर्दै उनले लाओसमा बौद्ध धर्मावलम्बीको ठूलो उपस्थिति रहेको बताए। गौतम बुद्धको जन्मस्थल नेपाल भएकाले लाओसका नागरिकले नेपाललाई विशेष सम्मान गर्ने गरेको उनको भनाइ थियो।
लाओस भ्रमणका क्रममा त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग भेटेर अन्धोपनको समस्या र यसको समाधानका उपायबारे छलफल गरेको डा. रुइतले जानकारी दिए।