तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय शैक्षिक भ्रमण तथा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक वातावरण, जडीबुटीको विविधता र मनोरञ्जनात्मक सुविधाका कारण यहाँ विद्यार्थी तथा घुमफिरमा रुचि राख्ने पर्यटकको आकर्षण बढ्न थालेको हो।
झाँगाझोलीस्थित गौरादेवी प्राकृतिक जडीबुटी उद्यानमा विभिन्न विद्यालयका विद्यार्थी शैक्षिक अवलोकन तथा अध्ययन भ्रमणका लागि पुग्ने गरेका छन्। हालै नेपाल प्रहरी विद्यालयका विद्यार्थीले समेत उद्यानको अवलोकन भ्रमण गरेका छन्। तनहुँका विभिन्न विद्यालयबाट पनि विद्यार्थीहरू यहाँ पुगेर वनस्पति, जडीबुटी तथा प्राकृतिक सम्पदाबारे जानकारी लिने गरेका छन्।
पोखरा जाने मुख्य सडकमार्गअन्तर्गत खैरेनीटार नजिकै अवस्थित झाँगाझोली यात्रा गर्ने पर्यटकका लागि पनि घुमफिरको उपयुक्त गन्तव्य बन्दै गएको छ। विशेषगरी प्रकृतिसँग रमाउन चाहने तथा विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउन चाहने विद्यालयका लागि यो स्थान उपयोगी बन्दै गएको छ।
करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको झाँगाझोली भिलेज रिसोर्ट तथा गौरादेवी प्राकृतिक जडीबुटी उद्यानमा दुई सयभन्दा बढी प्रजातिका जडीबुटी र ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा रहेका छन्। उद्यानमा विभिन्न जडीबुटीका नाम, पहिचान र परिचयसम्बन्धी जानकारीसमेत राखिएकाले विद्यार्थीलाई वनस्पति तथा जडीबुटीका बारेमा प्रत्यक्ष अवलोकनमार्फत ज्ञान हासिल गर्न सहज भएको छ।
यहाँ बाल उद्यान, पार्क, स्थानीय परिकारको स्वाद लिन सकिने व्यवस्था तथा आवास सुविधासमेत उपलब्ध छन्। अध्ययन, अवलोकन, मनोरञ्जन र विश्रामका लागि आवश्यक सुविधा एकै स्थानमा उपलब्ध हुनुले झाँगाझोलीको आकर्षण थप बढाएको छ।
प्राकृतिक सौन्दर्यसँगै शैक्षिक महत्व बोकेको झाँगाझोलीले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर प्रकृति र वनस्पतिसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्रदान गर्दै आएको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
शैक्षिक अवलोकनदेखि पारिवारिक घुमफिरसम्मका लागि उपयुक्त विशेषता बोकेको झाँगाझोली पछिल्लो समय तनहुँको नयाँ पर्यटकीय तथा शैक्षिक गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।