भक्तपुुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलको नवनिर्मित वडा प्रशासनिक भवन उद्घाटन गरिएको छ । नगर प्रमुख वासुदेव थापाले बिहीबार आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्नुभएको हो। भवन उद्घाटनसँगै वडा कार्यालयले नयाँ भवनबाटै सेवा प्रवाहसमेत सुरु गरेको छ । वडा नं. १० को भवनकै डिजाइनमा निर्माण गरिएको उक्त भवन २ रोपनी ११ आना क्षेत्रफलमा फैलिएको छ। भवन निर्माणमा पहिलो चरणको १ करोड ८१ लाख रुपैयाँ र थप ५५ लाख रुपैयाँ गरी कुल २ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ। भवनका केही फिनिसिङका काम भने बाँकी रहेका छन् ।
यसअघि साँघुरो कोठाबाट वडा कार्यालय सञ्चालन हुँदै आएकोमा आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ ।
नंखेल प्लानिङ क्षेत्रभित्र रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको भवन भौगोलिक अवस्थिति र सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर तयार गरिएको हो ।नगर प्रमुख थापाले आफू पहिलोपटक निर्वाचित भएर जिम्मेवारी सम्हाल्दा नगरपालिका व्यवस्थित प्रशासनिक संरचना, पर्याप्त कर्मचारी, आवश्यक ऐन–कानुन तथा भौतिक पूर्वाधारको अभावमा रहेको स्मरण गर्नुभया । सीमित जनशक्ति र पूर्वाधारबाट सुरु भएको स्थानीय सरकारको यात्रामा क्रमशः संस्थागत संरचना निर्माण गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाइएको उनले बताए ।
दुई कार्यकालसम्म नगरवासीले दिएको जिम्मेवारीलाई साझा दायित्वका रूपमा लिँदै राजनीतिक दलगत आस्थाभन्दा माथि उठेर संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार काम गर्दै आएको उनको भनाइ थियो । जनताले तिरेको करको सदुपयोग गर्दै विकास निर्माण र संस्थागत पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको उनले उल्लेख गरे । विकास योजनाबारे चर्चा गर्दै नगर प्रमुख थापाले सार्वजनिक जग्गाको व्यवस्थापन गरी वडा कार्यालय, खेलमैदान तथा नगरस्तरीय खेल पूर्वाधारका लागि स्थान छुट्याइएको बताए ।
प्लानिङ क्षेत्रको केन्द्रमा पर्ने भएकाले भविष्यमा प्रशासनिक संरचना वा वडा सीमामा परिवर्तन भए पनि वडा नं. ८, ९ र १० का नागरिकलाई सेवा लिन सहज हुने गरी भवन निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणमा नगरपालिकाकै आन्तरिक स्रोत तथा प्राविधिक जनशक्तिको उपयोग गरिएको उल्लेख गर्दै उनले निर्माणको गुणस्तरमा विशेष ध्यान दिइएको बताए ।
यद्यपि, केही भागको फिनिसिङ अपेक्षाअनुसार नभएको उल्लेख गर्दै बाँकी काममा सुधार गर्न सम्बन्धित प्राविधिक तथा निर्माण व्यवसायीलाई आग्रह गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले पछिल्लो साढे नौ वर्षको अवधिमा सूर्यविनायक नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए ।
यस अवधिमा सडक, भवन, पुललगायतका विभिन्न विकास निर्माणका काम अघि बढाइएको उल्लेख गर्दै उनले नरपालिकाले भौतिक पूर्वाधार विकासमा फड्को मारेको बताए । प्रवक्ता सापकोटाले विकास निर्माणसँगै सुशासन, प्रशासनिक सुधार र सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउने विषयलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गरे ।
वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण हुनु पनि संस्थागत विकास, सुशासन र नागरिकलाई सहज सेवा प्रदान गर्ने प्रयासकै एउटा महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो । वडा नं. ९ का अध्यक्ष भगवान खत्रीले नगरपालिकाको सहयोग र समन्वयमा भवन निर्माण कार्य सम्पन्न गर्न सफल भएको बताउनुभयो। भवन उद्घाटनसँगै बिहीबारदेखि नै नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएको जानकारी दिँदै उनले नयाँ तथा सुविधासम्पन्न भवनबाट नागरिकलाई सेवा दिन सहज हुने विश्वास व्यक्त गरे । यसअघि साँघुरो कोठाबाट सेवा सञ्चालन गर्नुपर्दा सेवाग्राही तथा कर्मचारी दुवैलाई असहज हुने गरेको उल्लेख गर्दै उहाँले आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु गर्न पाउनु वडाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
कार्यक्रममा अन्य वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, जनप्रतिनिधि, वडा कर्मचारी तथा स्थानीयवासीको सहभागिता थियो ।