काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबारदेखि आइतबारसम्म अलग-अलग स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा, महानगरपालिका-३२ बस्ने उदयपुर घर भएका ४६ वर्षीय बिष्णु खत्री र महानगरपालिका-१ बस्ने सिन्धुली घर भएका ३५ वर्षीय दिनेश पाख्रेन तामाङ छन् । त्यस्तै टोखा नगरपालिका-६ बस्ने गोरखा घर भएका ३८ वर्षीय राजेश बराम र गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पा पनि पक्राउ परेका छन् ।
पीडितहरूको उजुरीअनुसार आशिकाले युके पठाइदिने भन्दै एक जनाबाट ७ लाख ५० हजार रुपैयाँ लिएकी थिइन्। बिष्णुले माल्टा पठाउने भन्दै एक जनाबाट ६ लाख, दिनेशले युएई पठाउने भन्दै एक जनाबाट २ लाख रुपैयाँ लिएको आरोप छ । राजेशले सिंगापुर पठाउने भन्दै दुई जनाबाट १५ लाख ५० हजार र छिरिङले क्यानडा पठाउने भन्दै दुई जनाबाट ७ लाख ४० हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको पीडितको उजुरीमा उल्लेख छ ।
उजुरीका आधारमा प्रहरीले आशिकालाई बिहीबार काठमाडौं-१६ बाट पक्राउ गरेको हो । बिष्णुलाई शुक्रबार काठमाडौं-३२ बाट र दिनेशलाई सोही दिन काठमाडौं-१२ बाट पक्राउ गरिएको छ । राजेशलाई शनिबार काठमाडौं-६ बाट र छिरिङलाई आइतबार गोकर्णेश्वर नगरपालिका-३ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको छ ।