ढाका । दक्षिण एसियासँग १ अर्ब १७ करोड कार्यशील उमेरको जनसंख्याबाट लाभ लिने अवसर छ, तर यो अवसर क्रमशः साँघुरिँदै गएको विश्व बैंकले जनाएको छ । एक दशकभित्रै यस क्षेत्रको कार्यशील उमेरको जनसंख्या शिखरमा पुगेर घट्न थाल्नेछ । सन् २०४९ सम्ममा यो क्षेत्र वृद्ध अर्थतन्त्रमा परिणत हुनेछ, जहाँ कुल जनसंख्याको १४ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका हुनेछन् ।
मंगलबार सार्वजनिक विश्व बैंकको प्रतिवेदन 'दक्षिण एसियामा जनसांख्यिकीय परिवर्तन: विकासका लागि अनुकूलताबाट चुनौतीतर्फ' मा यी निष्कर्ष उल्लेख छन् । प्रतिवेदनअनुसार सन् २००० यता प्रमुख कार्यशील उमेर समूहका वयस्कको हिस्सा बढ्दै जाँदा दक्षिण एसियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.४ प्रतिशतले विस्तार भएको छ र श्रम उत्पादकता वार्षिक १.१ प्रतिशतले बढेको छ ।
तर दक्षिण एसियामा जनसंख्या वृद्ध हुने क्रम सुरु भइसकेको छ। तुलनायोग्य उदीयमान तथा विकासशील अर्थतन्त्रको तुलनामा यो क्षेत्र कम प्रतिव्यक्ति आयको अवस्थामै छिटो गतिमा 'ढल्किँदो जनसंख्या' बाट 'वृद्ध जनसंख्या' तर्फ अघि बढिरहेको छ । औसत विकासशील अर्थतन्त्रले यो चरण पार गर्न ३२ वर्ष लिएका छन्, जबकि दक्षिण एसियाले २५ वर्षमै यो चरण पार गर्नेछ । यसले रोजगारी सिर्जना गर्न र यो परिवर्तन व्यवस्थापन गर्ने प्रणाली निर्माण गर्न कम समय दिएको छ । जीडीपी वृद्धिमा जनसांख्यिकीय योगदान अहिलेदेखि सन् २०५० सम्ममा घटेर ०.१ प्रतिशतमा सीमित हुनेछ ।
विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष जोहानेस जुटले भने, 'दक्षिण एसियाका अर्थतन्त्र आफ्नो विकास यात्राको प्रारम्भिक चरणमै छिटो वृद्ध हुँदै छन् । अझ बढी र राम्रा रोजगारी सिर्जना गर्ने नीति र पूर्वाधार अहिल्यै अपनाएर 'युवा लाभांश' को फाइदा गहिरो बनाउनुपर्छ, साथसाथै वृद्धावस्थाका लागि पनि तयारी गर्नुपर्छ। यसले कार्यशील उमेरको ठूलो जनसंख्याको अधिकतम उपयोग गर्न र स्वस्थ वृद्धवृद्धाले अर्थतन्त्रमा योगदान दिइरहने 'दोस्रो लाभांश' को जग बसाल्न मद्दत गर्नेछ ।'
रोजगारीको खाडल
प्रतिवेदनले रोजगारीको खाडललाई चुनौतीको रूपमा औँल्याएको छ । दक्षिण एसियामा कार्यशील उमेरका ६० प्रतिशत मात्र रोजगार छन्, र रोजगार व्यक्तिमध्ये ८८ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्छन्, जहाँ आम्दानी कम र रोजगारी असुरक्षित हुन्छ । स्वस्थ र सीपयुक्त कामदार, बलियो सामाजिक सुरक्षा तथा थप राम्रा रोजगारी नभए ठूलो कार्यशील जनसंख्यालाई दिगो आर्थिक लाभमा बदल्ने अवसर गुम्न सक्ने जोखिम छ ।
कमजोर स्वास्थ्य र पेन्सन प्रणाली
स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह र पेन्सन प्रणाली लामो समय बाँच्ने तर आवश्यक रूपमा स्वस्थ नरहेको जनसंख्याको आवश्यकता धान्न सक्ने अवस्थामा छैनन् । दक्षिण एसियाका कार्यशील उमेरका १७ प्रतिशतले मात्र पेन्सन योजनामा योगदान गर्छन्, भने ६० वर्षमाथिका १० प्रतिशतले मात्र कुनै पेन्सन सुविधा पाउँछन्, जुन विश्वकै न्यूनतम कभरेज हो ।
समाधानका उपाय
प्रतिवेदनले दुवै मोर्चामा काम गर्न दक्षिण एसियाली मुलुकका लागि मार्गचित्र प्रस्तुत गरेको छ । अझ उत्पादनशील रोजगारी सिर्जना गर्ने, साना तथा मझौला उद्यममा वित्तीय पहुँच विस्तार गर्ने, नियमन सरलीकरण गर्ने, स्वास्थ्य, शिक्षा र सीप सुधार गर्ने तथा महिलाको रोजगारीमा रहेका अवरोध हटाउने उपायबाट 'युवा लाभांश' टिकाउन सकिने सुझाव छ । साथै, उमेर बढ्दै जाँदा मानिसलाई सहयोग गर्ने सुदृढ स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह र पेन्सन प्रणाली, र उत्पादकता बढाउने बचत तथा लगानीमार्फत 'दोस्रो लाभांश' खोल्न सकिने प्रतिवेदनमा उल्लेख छ ।