काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला र सजावट सामग्री बिक्री गर्न महानगरभित्र ३३ स्थान तोकेको छ । साथै, प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगर प्रहरी बलले जारी गरेको सूचनाअनुसार नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणका लागि निश्चित स्थान तोकिएको हो। प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री नबेच्न पनि महानगरले आग्रह गरेको छ ।
प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावट सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने महानगरले जनाएको छ ।
तोकिएका स्थानमध्ये नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोन पर्छन् । त्यसैगरी, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिनेछ ।
महानगरपालिकाले स्वदेशी फूल तथा मालाको बिक्री वितरण व्यवस्थित बनाउन सम्बन्धित व्यवसायी, व्यापारी र सर्वसाधारणलाई तोकिएका स्थानको प्रयोग गर्न अनुरोध गरेको छ ।