सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा १ भारतीय नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार १७ गते बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्दै गर्दा एकअर्कासँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाका बेला फिस्टेल एयरको हेलिकप्टरमा चालक दलसहित ३ जना सवार थिए ।
तमिलनाडुको चेन्नई घर भएका अनुमानित ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले्र जनाएकाे छ । उनको शवलाई प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लाको बिसुगार्ड ल्याइएको छ ।
घाइतेहरूमा न्युजिल्यान्ड घर भएका अनुमानित ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी छन् ।
पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको छ । डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।