काठमाडौँ । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्यका कारण शनिबार र आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागेकाले असोज २४ र २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रसारण लाइन बन्द गर्नुपर्ने जनाएको छ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ–स्युचाटार डबल सर्किट प्रसारण लाइनको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको एचटिएलएस (HTLS) कन्डक्टर जडान गरिरहेको छ । उक्त लाइनको एउटा सर्किटमा करिब चार सय मिटर कन्डक्टर परिवर्तन गर्न बाँकी छ ।
प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको तार जडान भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्नेछ । यसबाट काठमाडौं उपत्यकामा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न तथा विद्युत् प्रणालीलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्राधिकरणले निर्धारित समयमै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरेको जनाएको छ । यद्यपि, मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राविधिक कार्यका कारण उपभोक्तामा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।