काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २३ गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकका मुख्य निर्णयहरू निम्न बमोजिम रहेका छन्:
विश्व बैंकसँग 'क्याटास्ट्रोफ बोन्ड' सम्झौता: भूकम्पजस्ता प्राकृतिक विपद्बाट हुने जोखिम न्यूनीकरण तथा वित्तीय व्यवस्थापनका लागि विश्व बैंकसँग Nepal Earthquake Catastrophe Bond सम्बन्धी 'म्यान्डेट एग्रिमेन्ट' (Mandate Agreement) मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरिएको छ।
बिटौरी जग्गा दर्ता समिति गठन आदेश स्वीकृत: लामो समयदेखि बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता प्रक्रिया अघि बढाउन 'बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३' स्वीकृत गरिएको छ।
एशियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार: जापानको आईची-नागोयामा सम्पन्न २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल महिला कबड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।
विशिष्ट श्रेणीमा बढुवा तथा पदस्थापन: नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता श्री अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गरिएको छ।