टोखा नगरपालिका–४ को वडा कार्यालयले असोज २३ गतेदेखि कपडा बैंक सञ्चालनमा ल्याएको छ । घरमा प्रयोगमा नआएका कपडा तथा अन्य सामग्री संकलन गरी पुनः उपयोगमा ल्याउने उद्देश्यले कपडा बैंक सञ्चालन गरिएको हो । कपडा बैंकको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन् । कपडा बैंकमा प्रयोगमा नआएका लत्ताकपडा, झोला, पुस्तक तथा पत्रपत्रिका दान गर्न सकिने वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले घरमा प्रयोगविहीन अवस्थामा रहेका लत्ताकपडा तथा अन्य सामग्री कपडा बैंकमा ल्याएर दान गर्न नगरवासीलाई आग्रह गरेका छन् । यस अभियानले प्रयोगमा नआएका सामग्रीको पुनः उपयोगलाई प्रोत्साहन गर्नुका साथै आवश्यक पर्ने व्यक्तिहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।