— नोबेल लम्साल
एक्लो मान्छे! हो, यी नै हुन् ती एक्ला मान्छे,
जसको न घर छ, न थर, न कसैको भर।
यी त बस् एक्ला छन्, एउटा ज्यान मात्र,
न त उनका कोही आफन्त छन्, न त इष्टमित्र।
यिनका त केवल एउटा आशारूपी मनमात्र छ,
कि कसैले त उनलाई अँगालेर, ‘यी मेरा हुन्’ भनी
यो संसारमा चिनाउने छ।
उनी मात्रै यी कुरा बुझ्छन् र सम्झन्छन्।
तर तिनका यी भावना न कसैले सुन्छन्,
न कसैले बुझ्छन्।
उनीलाई त मात्र सबैले आफ्नै नजिकबाट खेद्छन्, लखेट्छन्
अनि भालारूपी शब्दले घोच्छन्।
यीसँग त आफ्ना भन्ने एक जोर लुगा
र उभिने जमिन मात्र छ।
जुनमा उनी बस्छन्, सुत्छन्, हिँड्छन्
र आफ्नो मानी रम्छन्।
संसारमा कोही आफ्ना नभइदिएका भए,
सृष्टि कसरी हुन्थ्यो होला?
राज्य आफ्नो भइदिएको भए,
फूल कसरी मुस्कुराउँथ्यो होला?
दमक, झापा