काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन्।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि उनी बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००९ देखि उनी ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
बैंकमा रहँदा उनले प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखलगायतका जिम्मेवारी सम्हालिसकेका छन्। उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।
रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) र डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ। बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’को उपाधि पाएको तथा युरोमनी अवार्ड फर एक्सलेन्सअन्तर्गत सन् २०२२, २०२४ र २०२५ मा सम्मान प्राप्त गरेको जनाएको छ।
ग्लोबल आइएमई बैंक सबै ७७ जिल्लामा शाखा विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक भएको बैंकको दाबी छ। बैंकका अनुसार हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।