काठमाडौँ । दसैँको समयमा यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत सरोकारवाला निकायको बैठकले दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।
बैठकले यही २३ असोजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए । उनका अनुसार सडकको अवस्थालाई ध्यानमा राख्दै सवारी सञ्चालनका क्रममा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि मात्रै अन्य सवारीसाधनलाई सञ्चालनको प्राथमिकता दिइने व्यवस्था मिलाइनेछ ।