काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र सुरक्षित बनाउन महत्वपूर्ण मानिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । करिब ६ किलोमिटर लामो उक्त प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ ।
थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण भएको मातातीर्थ–चोभार खण्ड चार्ज भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । यससँगै काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार मातातीर्थ–चोभार प्रसारण लाइनसँगै चोभार सबस्टेसन सञ्चालनमा आएपछि उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुनेछ ।
प्राधिकरणले आगामी हिउँदयाममा बढ्ने विद्युत् माग व्यवस्थापनलाई ध्यानमा राख्दै गत असोज ८ गते मातातीर्थ–चोभार लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो । त्यसका लागि चोभार सबस्टेसनमा आवश्यक दुईवटा वे निर्माण गरिएको छ ।
चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा स्थानीय विद्युत् वितरणका लागि ११ केभीका नौवटा फिडर छन् । यसबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुनालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ ।
सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तर र भोल्टेज सुधार हुने अपेक्षा गरिएको छ । साथै, उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा समस्या आउँदा वैकल्पिक रूपमा विद्युत् प्रवाह गराउन पनि सहज हुनेछ ।
हाल त्रिशूली र मस्र्याङ्दी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ । मातातीर्थदेखि चोभारसम्मको १३२ केभी लाइन सञ्चालनमा आएपछि उक्त विद्युत् चोभारतर्फ समेत पठाउन सकिनेछ ।
प्राधिकरणले चोभार सबस्टेसनदेखि चक्रपथ हुँदै ललितपुरको लगनखेलस्थित पाटन सबस्टेसनसम्म करिब साढे चार किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ । पाटन सबस्टेसनलाई समेत १३२ केभी स्तरमा स्तरोन्नति गर्ने काम अघि बढाइएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने उद्देश्यले थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि सुरु भएको आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।
तर, ललितपुरतर्फ खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गरेपछि निर्माण अघि बढ्न सकेको छैन । स्थानीय अवरोधका कारण मूल रुट निर्माण प्रभावित भएपछि प्राधिकरणले चोभारमा वैकल्पिक रूपमा सबस्टेसन निर्माण अघि बढाएको हो ।
ललितपुर खण्डको निर्माण सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजना भने अझै पूरा हुन सकेको छैन । कार्यकारी निर्देशक श्रेष्ठले चोभारदेखि पाटनसम्मको भूमिगत प्रसारण लाइनलाई पनि प्राथमिकताका साथ अघि बढाइएको बताएका छन् ।