काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डिसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले मंगलबार अध्यक्ष बाङ्गासँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका साथै बृहत् आर्थिक सुधार, बिमा र सामाजिक संरक्षणका क्षेत्रमा आवश्यक स्रोत परिचालनबारे छलफल भएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ ।
नेपालका प्राथमिकताका क्षेत्रमा करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।
भेटमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा हालै आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका लागि विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि सारेका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए ।
नेपालका प्राथमिकताका क्षेत्रमा लगानी विस्तारका लागि एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी संयुक्त लगानी बढाउने नयाँ पहल विश्व बैंकले गर्ने जानकारी पनि अध्यक्ष बाङ्गाले दिएका थिए ।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंक समूहका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो ।
भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदसहित उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।