कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले कञ्चनपुरका विभिन्न इलाका प्रहरी कार्यालय तथा सीमा नाकाको अनुगमन गरेका छन् ।
विष्टले असोज १२ गते इलाका प्रहरी कार्यालय बेलौरी, बेलडाँडी र त्रिभुवनबस्तीको अनुगमन गर्दै कार्यरत प्रहरी अधिकृत तथा जवानलाई आवश्यक निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा उनले दसैं–तिहारलाई लक्षित गरी सीमा नाकाबाट हुने भन्सार छली, लागुऔषधको ओसारपसार तथा कारोबार नियन्त्रणमा थप कडाइ गर्न निर्देशन दिए । उनले जुवातास नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी ट्राफिक व्यवस्थापनमा समेत जोड दिए ।
प्रहरी कर्मचारीले आचरण तथा व्यावसायिक मर्यादाअनुसार काम गर्नुपर्ने भन्दै विष्टले नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिन निर्देशन दिए ।
त्यसैगरी अल्पसंख्यक तथा सीमान्तकृत समुदायको प्रहरी सेवामा सहज पहुँच सुनिश्चित गर्न, स्थानीय तह तथा आम नागरिकसँग प्रभावकारी समन्वय गर्न र भरपर्दो शान्ति–सुरक्षा व्यवस्था कायम गर्न उनले निर्देशन दिएका छन् ।