काठमाडौँ । मिलाप मासिकका सम्पादक तथा हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट सम्मानित भएका छन् । गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा नेपाली गीत–सङ्गीत, साहित्य तथा स्रष्टासम्बन्धी विषयलाई पत्रकारितामार्फत प्रवर्द्धन गर्न पुर्याएको योगदानको कदर गर्दै भुसाललाई सम्मान गरिएको हो ।
समारोहमा गीत–सङ्गीत तथा साहित्य क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणमा योगदान पुर्याउने विभिन्न स्रष्टा, गीतकार तथा व्यक्तित्वलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा नेपाली गीत–सङ्गीत र साहित्यिक गतिविधिलाई सञ्चारमाध्यममार्फत निरन्तर स्थान दिँदै आएका भुसाललाई पत्रकारिता विधातर्फ सम्मान प्रदान गरिएको हो ।
लामो समयदेखि पत्रकारितामा सक्रिय भुसालले साहित्य, गीत–सङ्गीत, कला तथा सिर्जनात्मक क्षेत्रका गतिविधिलाई समाचार, अन्तर्वार्ता, समीक्षा तथा साहित्यिक सामग्रीमार्फत पाठकमाझ पुर्याउँदै आएका छन् । उनका सामग्रीमार्फत नेपाली स्रष्टा र सिर्जनासँग सम्बन्धित विषय सार्वजनिक बहसको दायरामा समेत आउने गरेका छन् ।
सम्मान ग्रहण गर्दै भुसालले आफूलाई सम्मानका लागि योग्य ठानेकोमा निर्णायक समिति तथा गीतकार सङ्घ नेपालको कार्यसमितिप्रति आभार व्यक्त गरे । उनले प्राप्त सम्मानले पत्रकारितामा आफूले गर्दै आएको कर्मप्रति थप ऊर्जा र जिम्मेवारीबोध गराएको बताए ।
‘यो सम्मान मेरो मात्र होइन, मेरो कलममाथि विश्वास गर्ने सम्पूर्ण शुभेच्छुक, सहकर्मी र पाठकप्रतिको पनि सम्मान हो,’ भुसालले भने, ‘यसले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा दिएको छ ।’
नेपाली गीत–सङ्गीत, साहित्य र स्रष्टाका सिर्जना तथा गतिविधिलाई सञ्चारमाध्यमले निरन्तर प्राथमिकताका साथ उठाउनुपर्ने भुसालको भनाइ छ । उनका अनुसार सिर्जनाकर्मसँगै त्यसको दस्तावेजीकरण, प्रचार–प्रसार र सार्वजनिक पहुँच विस्तार पनि नेपाली कला तथा साहित्यको विकासका लागि महत्त्वपूर्ण छ ।
पत्रकारितासँगै साहित्यमा समेत रुचि राख्ने भुसालका कविता विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन् । उनका कवितामा सामाजिक परिवेश, मानवीय संवेदना, जीवनका विविध आयाम तथा समसामयिक विषय समेटिने गरेका छन् ।
समाचार लेखन र सम्पादनसँगै भुसाल साहित्यिक गतिविधिमा पनि सक्रिय छन् । उनले विभिन्न स्रष्टाका डेढ दर्जनभन्दा बढी पुस्तक सम्पादनमा योगदान दिएका छन् ।
गीतकार सङ्घ नेपालले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा गीत–सङ्गीत तथा साहित्य क्षेत्रको विकासमा योगदान पुर्याउने विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । समारोहमा गीतकार, कलाकार, साहित्यकार तथा गीत–सङ्गीत क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता थियो ।