काठमाडौं । राष्ट्रिय चलचित्र दिवसको अवसरमा नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्रको पहिलो कथानक चलचित्र ‘आमा’लाई केन्द्रमा राखेर विशेष कार्यक्रम आयोजना गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘आमा’का तीन अग्रणी नायिका भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई विशेष सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाली चलचित्रको प्रारम्भिक चरण, पहिलो पुस्ताका कलाकारको योगदान तथा चलचित्रका गीत–संगीतको भूमिकाबारे चर्चा गरिएको थियो । सोही अवसरमा विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘शारदा’ पत्रिकाको विशेष सामग्रीसमेत विमोचन गरिएको थियो । उक्त सामग्रीमा नेपाली चलचित्रका गीत तथा गीत–संगीतसँग सम्बन्धित विषयवस्तु समेटिएको छ ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा ‘आमा’का तीनै अग्रणी नायिकालाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको थियो । संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राखेको कार्यक्रममा भुवन चन्द थापा, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र अध्यक्ष केसीले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए ।
नेपाली चलचित्रको पहिलो पुस्ताका कलाकार तथा चलचित्रकर्मीको योगदानको स्मरण गर्दै तीनै अग्रज कलाकारलाई संघका अध्यक्ष केसी र महासचिव कटुवालले खादा, माला तथा दोसल्लासहित सम्मान गरे । ‘शारदा’का सम्पादक विमल भौकाजीलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली चलचित्रको विकासक्रममा गीत–संगीतले पुर्याएको योगदान र पुराना चलचित्रका गीत तथा सिर्जनाको संरक्षणबारे पनि चर्चा भयो । वक्ताहरूले चलचित्रका पुराना गीत–संगीतलाई अभिलेखीकरण गर्दै भावी पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याए ।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, विमल भौकाजी र लव प्याकुरेललगायतले राष्ट्रिय चलचित्र दिवस, नेपाली चलचित्रको इतिहास तथा ‘आमा’ चलचित्रसँग जोडिएका विभिन्न विषयमा धारणा राखे ।
वक्ताहरूले सीमित स्रोतसाधनका बाबजुद नेपाली चलचित्रको प्रारम्भिक विकासमा पहिलो पुस्ताका कलाकार तथा प्राविधिकले खेलेको भूमिकाको स्मरण गरेका थिए । उनीहरूले नेपाली चलचित्रको इतिहासमा ‘आमा’को महत्त्वपूर्ण स्थान रहेको उल्लेख गर्दै त्यससँग जोडिएका कलाकार र सिर्जनाकर्मीको योगदानलाई नयाँ पुस्ताले पनि सम्झनुपर्नेमा जोड दिए ।
कार्यक्रममा ‘आमा’की नायिका वसुन्धरा भुसालले नेपाली चलचित्रको प्रारम्भिक समयको अनुभव सुनाउँदै आफूहरूले भोगेको संघर्ष र चलचित्र क्षेत्रको यात्राबारे धारणा राखिन् । संघका अध्यक्ष उत्तम केसीले अग्रज कलाकारको सम्मान तथा नेपाली चलचित्रको इतिहास संरक्षणका लागि कलाकार संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा कलाकार, निर्माता, निर्देशक, संगीतकर्मी तथा चलचित्रकर्मीको उपस्थिति थियो । मनोज आचार्य, पुजना प्रधान गुरुङ, लव्ली संगम राई, पुकार भट्टराई, अन्जु रञ्जित, माडिक रत्न, दीपेन्द्र तिमिल्सिना, उत्सव केसी, सुपा खनाल, देवेन्द्र पाण्डे, नीरज खुलाल, राज टाइगर, अमर वली, जीवन थापा, गीता अधिकारी र सानु श्रेष्ठलगायत कार्यक्रममा सहभागी थिए ।
राष्ट्रिय चलचित्र दिवसलाई नेपाली चलचित्रको विगत, वर्तमान र भविष्यसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । ‘आमा’ चलचित्रकी तीन अग्रणी नायिका एकै ठाउँमा उपस्थित हुनु कार्यक्रमको विशेष पक्ष रहेको अध्यक्ष केसीले बताए ।
नेपालमा राष्ट्रिय चलचित्र दिवस असोज १५ गते मनाउन थालिएको हो । यसअघि असोज १ गते मनाइँदै आएको दिवस गत वर्षदेखि नेपालको पहिलो कथानक चलचित्र ‘आमा’ प्रदर्शनमा आएको मितिलाई आधार बनाएर असोज १५ गते मनाउन थालिएको हो ।