सरकारी सेवामा कार्यरत महिला कर्मचारीलाई महिनावारीका समयमा छुट्टै बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले संसद्मा दर्ता गरेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा पहिलोपटक ‘महिनावारी/रजस्वला बिदा’को प्रावधान समेटिएको हो।
संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा १२५ मा निजामती कर्मचारीले पाउने विभिन्न प्रकारका बिदाको सूचीमा महिनावारी तथा रजस्वला बिदालाई समेत समावेश गरिएको छ।
प्रस्तावित व्यवस्था संसद्बाट पारित भई ऐनका रूपमा कार्यान्वयनमा आएमा सरकारी सेवामा कार्यरत महिला कर्मचारीले महिनावारीका लागि छुट्टै बिदा पाउने कानुनी आधार बन्नेछ।
हाल प्रचलित निजामती सेवा कानुनमा महिनावारीका लागि छुट्टै बिदाको व्यवस्था छैन। महिला कर्मचारीले बिरामी, प्रसूति तथा अन्य प्रचलित बिदा उपयोग गर्दै आएका छन्।
त्यसैगरी, निजी तथा अन्य क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्ने श्रम ऐन, २०७४ मा पनि महिनावारीलाई छुट्टै बिदाका रूपमा व्यवस्था गरिएको छैन। ऐनमा बिरामी र प्रसूति लगायतका विभिन्न बिदाको प्रावधान रहे पनि रजस्वलाका लागि छुट्टै बिदा तोकिएको छैन।
नयाँ विधेयकले भने महिनावारी बिदालाई औपचारिक रूपमा निजामती कर्मचारीले पाउने बिदाको सूचीमा समेट्ने प्रस्ताव गरेको छ। यसले सरकारी सेवामा कार्यरत महिला कर्मचारीका लागि महिनावारीका समयमा छुट्टै बिदाको व्यवस्था गर्न कानुनी बाटो खोल्नेछ।
यद्यपि, प्रस्तावित व्यवस्था तत्काल लागू भइसकेको भने होइन। संघीय निजामती सेवा विधेयक संसद्बाट पारित भई ऐन बनेपछि मात्रै महिनावारी बिदासम्बन्धी प्रावधान कार्यान्वयनमा आउनेछ।