काठमाडौँ । चाडपर्वमा घर फर्किने यात्रुको चाप बढेसँगै लामो दुरीका रात्रिकालीन बसमा चालकको थकानबाट हुन सक्ने दुर्घटना रोक्न ट्राफिक प्रहरीले निगरानी कडा बनाउने भएको छ । लामो दुरीका सार्वजनिक सवारीसाधनमा २ जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन उपत्यका ट्राफिक प्रहरीले विशेष जाँच अभियान सञ्चालन गर्ने भएको हो ।
रातभर लामो दुरीको यात्रा गर्दा एउटै चालकले निरन्तर सवारी चलाउँदा थकान बढ्ने र त्यसले दुर्घटनाको जोखिम निम्त्याउन सक्ने भएकाले २ चालकको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । चाडपर्वका समयमा यात्रुको आवागमनसँगै रात्रिकालीन बसको संख्या बढ्ने भएकाले नियम कार्यान्वयनमा विशेष ध्यान दिन लागिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा २ चालक भए/नभएको विषयमा नियमित जाँच गरिने बताए । उनका अनुसार नियमविपरीत १ जनामात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ । ‘लामो दुरीको यात्रामा चालकलाई पर्याप्त आराम आवश्यक हुन्छ । एउटै चालकले निरन्तर सवारी चलाउँदा थकानका कारण दुर्घटनाको सम्भावना बढ्न सक्छ,’ उनले भने ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार २ चालकको व्यवस्थाले लामो यात्राका क्रममा पालैपालो सवारी चलाउन सहज हुने र चालकलाई आवश्यक आराम मिल्नेछ । रात्रिकालीन सार्वजनिक यातायातमा यो व्यवस्था थप कडाइका साथ लागू गरिने उनले बताए । ट्राफिक प्रहरीले चालकले मादकपदार्थ वा लागुपदार्थ सेवन गरे/नगरेको विषयमा पनि जाँचलाई तीव्रता दिने भएको छ । लामो दुरीका सवारी सञ्चालन गर्नुअघि तथा यात्राका क्रममा चालकको अवस्था जाँच गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने तयारी गरिएको छ ।
चाडपर्व लक्षित अभियानअन्तर्गत सवारीसाधनको अवस्था, चालकको योग्यता, २ चालकको व्यवस्था तथा ट्राफिक नियमको पालना भए/नभएको विषयमा समेत निगरानी गरिने कार्यालयले जनाएको छ । मुख्य सडक, बसपार्क तथा लामो दुरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाइनेछ ।
यसैगरी, यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असहज हुने गतिविधिमाथि पनि निगरानी गरिने प्रहरीले जनाएको छ । यात्रुको चाप बढ्ने समयमा सार्वजनिक यातायातमा हुन सक्ने ठगी तथा अन्य अनियमितता नियन्त्रण गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।
ट्राफिक प्रहरीले चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने भएकाले चालकलाई गति नियन्त्रण, लेन अनुशासन र ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ । यात्रुले पनि सवारीसाधनमा चढ्नुअघि चालकको अवस्था र सवारीसाधनको सामान्य अवस्थाबारे ध्यान दिनुपर्ने प्रहरीको भनाइ छ ।
चाडपर्वमा ठुलो संख्यामा यात्रु उपत्यकाबाट बाहिरिने भएकाले दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।