काठमाडौँ । गीतसंगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका स्रष्टा, कलाकार र सञ्चारकर्मीहरूलाई सम्मान तथा अवार्ड प्रदान गर्दै 'यमन ग्लोबल म्युजिक अवार्ड-२०८३' को पहिलो संस्करण भव्य रूपमा सम्पन्न भएको छ । यमन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमा हलमा आयोजित समारोहमा विभिन्न विधाका स्रष्टा तथा कलाकारहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।
सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यता तथा सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । समारोहमा नेपाली गीत-संगीतको क्षेत्रमा लामो समयदेखि पुर्याएको विशिष्ट योगदानको कदर गर्दै वरिष्ठ गायिका तारा थापालाई 'दीर्घसाधना सम्मान' प्रदान गरियो। त्यसैगरी, महाकाव्यकार खेमनाथ दाहाललाई 'महाकाव्य साधना सम्मान' प्रदान गरिएको कार्यक्रम संयोजक तारावीर पाण्डेले जानकारी दिए ।
कार्यक्रममा गीतसंगीत तथा समाजका विभिन्न विधामा क्रियाशील वरिष्ठ गीतकार अम्बिका गुरुङ, गायिका मिलन नेवार, राजनराज सिवाकोटी, फुर्बा खाण्डु गुरुङ, प्रेमचन्द्र गुरुङ, रिकि लेप्चा, सविना भण्डारी, खिमानन्द आचार्य, शीतल कात्मविनी, शिव पराजुली, सुशील नेपाल, तुलसी बास्कोटा, शर्मिला गौतम र सोमराज तामाङलगायतलाई विशेष सम्मान गरिएको थियो । पत्रकारिता क्षेत्रतर्फ स्वतिका पन्थीलाई पत्रकारिता पुरस्कार तथा ई-हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौड्याललाई पत्रकारिता अवार्ड प्रदान गरियो ।
आयोजकका अनुसार यस वर्षको अवार्डमा स्थापित स्रष्टाहरूसँगै विभिन्न विधामा योगदान पुर्याइरहेका नयाँ पुस्ताका कलाकारहरूलाई समेत समेटिएको थियो । समारोहमा पल शाह, प्रकाश सपुत, अर्जुन पोख्रेल, शिव परियार, डिपी खनाल, हरि सायमी, शंकर थापा 'स्माइल', छविन गुरुङ, प्रताप दास, बबिना भट्टराई, सारिका घिमिरे, सरोज पोख्रेल, रोकश दाहाल, सिमरन परियार, ईश्वरी बराल, नकुल कार्की, शुक्र आम्बुराङ राई, सुन्दर हाङ राई, रश्मि पाण्डे, नरहरि प्रेमी, निशा देशार, रचना रिमाल, षडष सम्बाहाम्फे, शेरु बराइली, बुद्धिमान बराइली, विनोद दनुवार, सुशील भट्टराई, मञ्जु लावती, शक्ति थामी, राजु हाङदम्बे र प्रकाश खरेललगायतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।
यसैगरी संगीता भण्डारी, सुनिता बुर्लाकोटी लुइँटेल, अनिश योञ्जन, सञ्जीव वाइवा, विजय दोङ, मुकेश गुरुङ, पासाङ शेर्पा, ज्ञानेन्द्र शर्मा हुमागाईं, सुनिल राउत, निर्देशक अर्जुन पोख्रेल, निशान एसके, विनोद बम, सुशील डागी, शिला गजुरेल, पवित्रा आचार्य, बबिना किराती, प्रशान्त सिवाकोटी, डम्बर नेपाली, जुरी ठाकुर र सोम मङरातीलगायतका स्रष्टा एवं प्राविधिकहरू पनि अवार्डबाट सम्मानित भएका छन् ।
यसपटक आयोजकले पर्दापछाडि रहेर संगीत सिर्जनामा महत्त्वपूर्ण योगदान दिने वाद्यवादकहरूलाई समेत संस्थागत रूपमा समेटेको छ । जसअन्तर्गत तालवादनतर्फ भुवन गन्धर्व र बाँसुरीवादनतर्फ रत्न विकलाई अवार्ड प्रदान गरिएको थियो । गायक-गायिकासँगै वाद्यवादकको योगदान पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकाले यो प्रयास गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य प्रायोजक सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालि र सह-प्रायोजक मन्टेश्वरी एसोसिएसन नेपाल रहेका थिए ।
अवार्ड समारोहकै अवसर पारेर सिक्किमका गायक छविन गुरुङको नयाँ गीत 'आमा' सार्वजनिक गरिएको थियो । छविन गुरुङकै शब्द तथा संगीत रहेको यस गीतको भिडियोलाई तारावीर पाण्डेले निर्देशन गरेका हुन् ।
पारिवारिक सम्बन्ध र आमाप्रतिको अगाध माया प्रस्तुत गरिएको भिडियोमा छविन गुरुङ, कविता आले, पवित्रा आचार्य, प्रेमचन्द्र गुरुङका साथै बाल कलाकारहरू एलेक्स खड्का र संयम कटवालको अभिनय रहेको छ । भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं र सम्पादन/कलर राकेश दाहालले गरेका छन् ।
गीतसंगीतका साथै वाद्यवादन, चलचित्र, कला, साहित्य र पत्रकारिता क्षेत्रलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले अवार्ड आयोजना गरिएको संयोजक तारावीर पाण्डेले बताए । अवार्डका अध्यक्ष पारिजात बरालले आगामी दिनमा कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र फराकिलो बनाउँदै अन्तर्राष्ट्रियस्तरसम्म लैजाने योजना रहेको जानकारी दिए ।