काठमाडौं । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको ऐतिहासिक जित हात पारेको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालले अफगानिस्तानलाई २० ओभरमा ७ विकेट गुमाएर १ सय २ रनमा रोकेको थियो। नेपालले उक्त लक्ष्य १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
यो जितसँगै नेपालले समूह ‘ए’मा महत्वपूर्ण दुई अंक जोडेको छ। अफगानिस्तानमाथि नेपालले ट्वान्टी–२० क्रिकेटमा १२ वर्षपछि जित निकालेको हो। यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो। त्यसै वर्ष दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदको क्वार्टरफाइनलमा भने अफगानिस्तानले नेपाललाई ८ रनले हराएको थियो।
शुक्रबारको खेलमा १ सय ३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत भने राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेल इनिङ्सको दोस्रो बलमै शून्यमा आउट भए। अर्का ओपनर आसिफ शेखले २ रन मात्र बनाउन सके।
त्यसपछि सन्दीप जोराले इनिङ्स सम्हाल्ने प्रयास गरे। उनले ३५ बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाए। तर उनी रनआउट भए। कुशल मल्ल पनि ९ रनमा रनआउट भएपछि नेपाल केही दबाबमा परेको थियो।
रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले त्यसपछि नेपालको इनिङ्स अघि बढाए। दीपेन्द्रले १८ बलमा १५ रन बनाए। नेपाललाई जितका लागि एक रन आवश्यक हुँदा उनको विकेट गएको थियो। त्यसपछि क्रिजमा आएका गुल्शन झाले पहिलो बलमै एक रन जोड्दै नेपाललाई जित दिलाए।
रोहित ३२ बलमा ४ चौकासहित ३३ रनमा अविजित रहे। नेपालले अफगानिस्तानबाट ९ अतिरिक्त रन पनि पाएको थियो।
यसअघि कुशल भुर्तेल र ललित राजवंशीको प्रभावशाली बलिङका कारण अफगानिस्तान ठूलो स्कोर बनाउन असफल भयो। भुर्तेलले ४ ओभरमा एक मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए। ललितले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए।
ललितले सुरुआतमै तीन विकेट लिएपछि अफगानिस्तान पावर प्लेको ६ ओभरमा १९ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। उनले ओपनर हसन इसाखिललाई शून्यमा बोल्ड गरे। मोहम्मद अक्रमलाई २ रनमा लोकेश बमबाट क्याच गराए भने करिम जनातलाई ९ रनमा बोल्ड गरे।
त्यसपछि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रानले अफगानिस्तानको इनिङ्स सम्हाल्ने प्रयास गरे। दुवैले समान ३० रन बनाए। अहमदजाइले ३५ बलमा २ चौका र १ छक्का प्रहार गरे भने जाद्रानले ४० बलमा २ चौका प्रहार गरे। यी दुईले चौथो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए।
भुर्तेलले फैजल र जाद्रानसहित मोहम्मद इसाकलाई ७ तथा कप्तान डार्विस रसुलीलाई शून्यमा आउट गरे। अफगानिस्तानले अन्तिम ५ ओभरमा ३७ रन जोडे पनि १ सय २ रनभन्दा माथि जान सकेन।
जितपछि नेपालको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। समूह ‘ए’मा अफगानिस्तानले यसअघि बिहीबार आयोजक जापानलाई ४८ रनले पराजित गरेको थियो। नेपालले शनिबार जापानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ।
एसियाली खेलकुदको पुरुष क्रिकेटमा प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्। नेपालले अफगानिस्तानलाई हराएर महत्वपूर्ण दुई अंक जोडिसकेको अवस्थामा अब जापानविरुद्धको खेलले समूहको अन्तिम समीकरण निर्धारण गर्नेछ।