काठमाडौँ । नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच विपन्न, ज्येष्ठ नागरिक, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका नागरिकको निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रियाका लागि सहयोग उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकले कार्यक्रम सञ्चालनका लागि अस्पताललाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनेछ । अस्पतालले समुदायमा पुगेर आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन गर्नेछ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंका अनुसार उक्त कार्यक्रम आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशमा समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ । पहिलो वर्ष गण्डकी प्रदेशमा कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै, बागमती र मधेस प्रदेशमा कार्यक्रम विस्तार गरिनेछ ।
कार्यक्रममा ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा पिछडिएका समुदायका मोतियाबिन्दुको जोखिममा रहेका व्यक्तिलाई प्राथमिकता दिइनेछ । अस्पतालले समुदायमै पुगेर आँखा रोगको पहिचान, आवश्यक परामर्श तथा मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउने छ ।
अस्पतालले पाँच वर्षमा ४५ वटा आँखा परीक्षण शिविर सञ्चालन गरी करिब १५ हजार जनाको आँखा परीक्षण गर्ने लक्ष्य राखेको छ । त्यस्तै, १५ वटा शिविरमार्फत करिब एक हजार जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ ।
आर्थिक तथा भौगोलिक कारणले गुणस्तरीय आँखा उपचार सेवाबाट वञ्चित समुदायलाई सेवा उपलब्ध गराउन कार्यक्रमले सहयोग पुग्ने अस्पतालले जनाएको छ ।