काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रुपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरु साझा कार्यक्रममा आवद्ध भएका हुन् ।
रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरुले साझा यातायातसँग समझदारी पत्रमा हस्ताक्षर गरे ।
हस्ताक्षर गर्ने महानगरपालिका र नगरपालिकाहरुमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका छन् ।
यसमा साझा यातायातका तर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् । संविधान दिवसको अवसरमा पारेर साझा यातायातको कार्यालयमा आयोजना गरिएको समारोहमा हस्ताक्षर गरिएको हो । त्यसलगत्तै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो ।