अष्ट्रेलिया । अष्ट्रेलियास्थित साउथ अष्ट्रेलियाको पुरानो सामाजिक संस्था 'एडिलेड नेपाली समाज'को सातौँ द्विवार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार आयोजित साधारण सभाले सन् २०२६-०२८ कार्यकालका लागि बालगोपाल उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
अष्ट्रेलियाको स्थानीय फ्रेस चुल्हो नेपाली रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा उपाध्यक्षद्वयमा लक्ष्मी सापकोटा र हिमाल कँडेल (पदेन, प्राचार्य—एडिलेड नेपाली विद्यालय) छानिएका छन्। यस्तै सचिवमा प्रदिप निरौला, उपसचिवमा विकास पौडेल, कोषाध्यक्षमा पुष्पा बन्जाडे तथा जनसम्पर्क अधिकृतमा सुरेन्द्र रेग्मी चयन भएका छन्।
समितिको सदस्यहरूमा निवर्तमान अध्यक्ष श्याम दाहालसहित रामकृष्ण शर्मा, बन्धु विक्रम कार्की, खगेन्द्र सत्याल, दीपा दाहाल र बाल सापकोटा रहेका छन्।
साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्काले एडिलेड नेपाली समाजले स्थानीय नेपाली समुदायको हकहित र संस्कृति संरक्षणमा पुर्याएको योगदानको प्रशंसा गरिन्।
कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थीर गुरुङ, एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन एवं ओशियाना मिट २०२७ का अध्यक्ष विजय जोशीले नयाँ नेतृत्वलाई बधाई दिँदै समाजको सफलताको शुभकामना व्यक्त गरेका थिए।
साधारण सभाले निवर्तमान अध्यक्ष श्याम दाहालको अध्यक्षीय प्रतिवेदन, कोषाध्यक्ष आनन्द पोखरेलको आर्थिक प्रतिवेदन तथा एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कँडेलले पेस गरेको विद्यालयको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। कार्यक्रममै संस्थाका संयोजक सूर्य आचार्यले समाजको नयाँ परिमार्जित वेबसाइट सार्वजनिक गर्दै त्यसको उपयोगिताबारे जानकारी गराएका थिए।
नयाँ नेतृत्व चयनका लागि गठित निर्वाचन समितिमा बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेन्का (FENCA) उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए ओशियाना पूर्व सह-संयोजक नविन कँडेल र हेल्प नेपाल अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतम रहेका थिए। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति सदस्य कपिल पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।