काठमाडौं । काठमाडौंको तिलगंगा क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो करिब २ बजे काठमाडौं महानगरपालिका-९ स्थित तिलगंगा सडक खण्डमा चेकजाँच गर्ने क्रममा ३६ वर्षीय लालबहादुर तामाङलाई पक्राउ गरेको हो ।
चितवनको इच्छाकामना गाउँपालिका-७ जाङजुगे घर भई हाल काठमाडौं-८ विजयचोक बस्ने तामाङले बोकेको कालो रङको झोलाबाट प्रहरीले सुरुमा ४ केजी गाँजा बरामद गरेको थियो ।
कोठामा छापा मार्दा थप गाँजा बरामद
पक्राउ परेका तामाङसँग सोधपुछ गर्ने क्रममा उनले आफ्नो डेरामा पनि गाँजा लुकाएर राखेको स्वीकार गरेका थिए । प्रहरी टोलीले विजयचोकस्थित उनको कोठामा खानतलासी गर्दा थप ४ केजी गाँजा फेला पारेको हो ।
प्रहरीका अनुसार उनको साथबाट जम्मा ८ केजी लागु औषध गाँजा बरामद गरिएको छ । तामाङलाई नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।