भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वस्थ बुड्यौैलीका लागि सहारा परियोजनाका कार्यक्रम तीव्ररुपमा सञ्चालन हुँदै आएका छन् । यस अन्तर्गत नगरपालिका वडा नं ८ को सुुडालका ज्येष्ठ राधाकृष्ण नागरिक मिलन चौतारीको सहकार्यमा सञ्चालित तीन दिने धुप काट्ने प्रशिक्षण सम्पन्न भएकोछ । 
कार्तिक २६ देखि २८ सम्म वडा नं ८ को काशी विश्वनाथ मन्दिरसँगै रहेको सामुदायिक भवनमा सम्पन्न प्रशिक्षणमा २४ जना जेष्ठ नागरिकको सहभागिता रहेको थियो । चाँगुनारायण नगरपालिका वडा नं ८ का वडाध्यक्ष जनक खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षणको समापन कार्यक्रममा जेष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष सानो भाइ कार्की क्षेत्री, नेपाल रेडकस सोसाइटी सुडाल उपशाखा उपसभापति रेणु कार्कीको उपस्थिती रहेको थियो ।
प्रशिक्षण समापनका क्रममा आफ्नो मन्तव्य राख्नुहुदै वडाअध्यक्ष जनक खत्रीले धुप काट्ने प्रशिक्षणले ज्येष्ठ नागरिकहरुमा सीपको विकास गर्नुका साथै समय विताउन पनि सहयोगी हुने बताउनुभयो । उहाँले आगामी दिनहरूमा ज्येष्ठ नागरिकले बाटेका धुप वडामा राखेर वडामा आउने सेवाग्राहीहरूलाई बिक्रि गरी ज्येष्ठ नागरिक कोषमा सहयोग गरिने बताए । यस्ता गतिविधिले जेष्ठ नागरिकको एक्लोपन हटाउन धेरै मद्दत पुगेको पनि वडा अध्यक्ष खत्रीले बताए ।
समापन कार्यक्रममा सहभागिकोे तर्फबाट आफ्नो भनाई राख्नुहँदै ज्येष्ठ नागरिक राधिका बुढाथोकीले तीन दिने धुप बाट्ने तालिमको अनुभव साझा गरेका थिए। उहाँले दिनभरि घरमा एक्लै बस्दा मन नलागेको र अहिले साथीहरूसँग बसेर धुप बाट्न पाउँदा एकदम खुसी लागेको बताउनुभयो। यस्तो खालका प्रशिक्षण कार्यक्रम वडामा सञ्चालन गर्नुभएकोमा वडा, नगरपालिका र रेडक्रसलाई धन्यवाद दिनुका साथै आगामी दिनमा पनि यस प्रकारको प्रशिक्षण संचालनको लागि अनुरोध गर्नुभयो । प्रशिक्षण कार्यक्रममा वडा नं ८ की सहजकर्ता तुलसा नेपालले सहजिकरण गरेका थिए ।