काठमाण्डौ आज शनिवार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले अनलाइनमार्फत् मतदाता नामावलीका लागि आवेदन गर्न सक्ने भएका छन् । राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले आज शनिवार आवेदन गर्न नसक्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले पहिले नै आवेदन पेश गरिसकेका नागरिकलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य आज सञ्चालन रहने व्यहोरा पनि जानकारी गराएको छ । साथै आयोगले आज शनिवार मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण सङ्कलन गर्ने सेवा पूर्ववत रूपमा सञ्चालन गर्न सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ ।
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अस्तिदेखि अनलाइनबाट नाम दर्ता गराउनेको पनि चाप उच्च छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनेको चाप बढेपछि पाँच दिन समय थप गरेको छ ।
मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकको सहजता र सुविधाका लागि नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरिएको आयोगले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले हिजो आयोगलाई समय थप्न आग्रह गर्नुभएको थियो । यसअघि आयोगले भोलि कात्तिक ३० सम्मको समय तोकेको थियो । पछिल्लो विवरण अनुसार दुई लाख ५७ हजार ५ सयभन्दा धेरै नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।