काठमाडौं उपत्यकाको दक्षिण क्षेत्रमा रहेको गोदावरी नगरपालिका धार्मिक तथा पर्यटकीय दृष्ट्रिकोणले पवित्र नगरपालिका हो । प्रशासनिक इकाइको रुपमा १४ वटा वडामा विभाजित गोदावरी नगरपालिका भौगोलिक रुपमा उपत्यकाकै ठूलो नगरपालिका हो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दोस्रो कार्यकालका लागि निर्वाचित भइ नगर प्रमुखको जिम्मेवारी बहन गरिरहनु भएका गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसँग गरिएकाे कुराकानीः
गोदावरी नगरपालिकाको भौगोलिक चिनारी कसरी गराउन सकिन्छ ?
काठमाडौँं उपत्यकाको ठूलो र नयाँ गोदावरी नगरपालिका ऐतिहासिक, पर्यटकीय र सांस्कृतिक नगरपालिका हो । साविकका बज्रबाराही र गोदावरी नगरपालिकाको गोदामचौर, विशंखुनारायण, गोदावरी, बडिखेल, लेले, देवीचौर, डुकुछाप, छप्पी, चापागाउँ, ठेचो, झरूवारासी र ठैवलाई समेटेर वि.सं.२०७३ फागुन २७ गते यो नगरपालिका बनाइएको हो । यो नगरपालिकाको भौगोलिक क्षेत्रफल ९६.११ वर्ग किलोमिटर रहेको छ । गोदावरी नगरपालिका भित्र विभिन्न जातजाति, भाषाभाषी र धर्म परम्परा मान्नेहरू एक आपसमा मिलेर बसोबास गरेका छन् । धार्मिक सहिष्णुता हाम्रो नगरपालिकाको विशेषता हो ।
विकट र दुर्गम ठाउँहरू समेटिएको यस नगरपालिकाका केही वडाहरू भौतिक विकास र व्यक्तिको सचेतनामा हुनुपर्नेे विकासमा पनि पछि छन् । यी वडाहरूलाई अन्य वडाहरूमा भएका विकासको स्तरमा ल्याई पु¥याउन धेरै काम गर्नुपर्ने अवस्था छ । त्यसैले, हामीले नगरवासीको आवश्यकतालाई प्राथमिकताको आधारमा प्राथमिकिकरण गरेका छौं ।
पहिलो कार्यकालमा भएका प्रमुख कार्यहरु र दोस्रो कार्यकालका प्रमुख प्राथमिकता केके हुन् ?
“कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरी नगरलाई समृद्ध बनाउने हाम्रो रहर” भन्ने नारालाई सार्थक बनाउन नगरपालिका सबै जनप्रतिनिधि, कर्मचारी र सुभेक्च्छुकहरु लागि परेका छन् । नयाँ नगरपालिका भएकाले हामीले अघिल्लो कार्यकालमा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका थियौं । दोस्रो कार्यकालमा शिक्षा र स्वास्थ्य हाम्रो मुख्य प्राथमिकतामा राखिएका छन् । त्यसैले आर्थिक वर्ष २०७९/२०८० को बजेट शिक्षा र स्वास्थ्यमा केन्द्रित छ । शिक्षा र स्वास्थ्य सँगसँगै पूर्वाधार निर्माणलाई अघि बढाउने योजना बनाएका छौं । पूर्वाधार निर्माण निरन्तर चलिरहने प्रक्रिया हो । त्यसैले हामीले यसलाई अन्य क्षेत्रसँगसँगै अघि बढाउने निधो गरेका छौं । गोदावरी नगरपालिकालाई बस्न योग्य सहर बनाउन र नगरपालिकाले प्रवाह गर्ने सेवालाई जनमुखी र सरल बनाउन हामीले ल्याएका विशेष योजनाले नगरवासी लाभान्वित हुनुहुने नै छ ।
स्थानीय सरकार नागरिकको नजिकको सरकार हो । नागरिकको दैनिकसँग जोडिएका सामान्य जस्ता लाग्ने विषयमा केन्द्रित भएर काम गर्नु स्थानीय सरकारको मुख्य जिम्मेवारी र कतव्र्य हो । ।यस अघिको पाँच वर्षमा थालिएका योजनाहरू सम्पन्न हुने क्रममा छन् । केही योजनाहरू बहुवर्षीय योजना अन्तर्गत राखेर काम सुरू गरिएको छ । ती योजना र कार्यक्रमबाट नगरबासीले तत्काल सुविधा र लाभ अनुभूति गर्न नपाएपछि यो आर्थिक वर्षको अन्त्य सम्ममा तिनले दिएकोे सुविधा आभाष गर्न नगरवासीले सक्नु हुनेछ । कला, संस्कृति र सम्पदाको संरक्षण एवं जगेर्ना गर्नुका साथै वर्षौदेखि पछाडि पारिएका महिला, दलित, जनजाति, सिमान्तकृतको आवश्यकता पहिचान गर्दै माग सम्बोधन हुने गरी कार्यक्रम ल्याएका छौं ।
नगरपालिकाको विकास निर्माणको कार्यमा नागरिकको सहभागिता कस्तो रहँदै आएको छ ?
नगरको विकासमा नागरिकको सहभागिता उच्च रहँदै आएको छ । हरेक विकास निर्माणको काममा नागििरकले चासो राख्ने गरेका छन् । नगरपालिकाको विकास निर्माणमा सबै तहबाट त्यक्तिकै साथ र सहयोग हुँदै आएको छ ।
नगरपालिकाले बनाएको नीति तथा कार्यक्रम नागरिकको आवश्यकता पहिचान गरी सम्बन्धित क्षेत्रका विज्ञ,सल्लाहकारहरूबाट प्राप्त रचनात्मक र सिर्जनात्मक सुझावहरूलाई अनुसरण गर्दै तयार पारिएको छ । यसका साथै वडा अध्यक्षज्यूहरूको नेतृत्वमा गरिएका सहभागितामूलक छलफलपछि तयार पारिएको यो नीति तथा कार्यक्रमले नगरवासीको वर्तमान आवश्यकताहरूलाई सम्बोधन गरेको छ । जनताको नजिकको सरकार स्थानीय सरकार सफल हुनका लागि नागरिकको साथ,
सहयोग, अलोचनात्मक टिप्पणी अत्यावश्यक हुन्छ ।
तपाईले सधै गोदावरी नगरपालिकालाई नमूना नगर बनाउने भन्दै आउनु भएको छ यसका लागि योजना केके छन् ?
नगरपालिकालाई ७५३ वटै पालिका भन्दा फरक रुपमा कार्य गर्दै नमूना नगरपालिका बनाउने योजना बनाएका छौं । जसका लागि शिक्षा, स्वास्थ्य पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको साथै दिगो विकासको लक्ष्यलाई कार्यान्वयन गर्न नगरपालिका प्रतिबद्ध रहेको छ । गोदावरी नगरपालिकालाई मुलुककै नमूना नगरपालिका बनाउन यहाँहरू सम्पूर्णको सिर्जनात्मक र सकारात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछु । नगरवासीले विश्वास गरेर दिनु भएको जिम्मेवारी पुरा गर्ने क्रममा कसैसँग कुनैपनि विषयमा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
गोदावरी नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण नगरवासी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, अन्य सरकारी कार्यालयका प्रमुखहरू, कर्मचारी, बुद्धिजिवी समाजसेवी, लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।