टोखा नगरपालिकाले विकास पूर्वाधार र प्रविधिमैत्री सेवालाई प्राथमिकतामा राखेको छ । नगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई अझ सुदृढ, पारदर्शी र जनमैत्री बनाउँदै छिटो छरितोरुपमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले सूचना प्रविधिको प्रयोगमा जोड दिदै आएको छ । नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण भएपछि सुशासन र प्रभावकारी सेवा प्रवाहका गर्दै आएको सन्दर्भमा नगरपालिकाले गरेका कार्य र आगामी योजनाका सन्बन्धमा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसँग हाम्रा संवाददाताले गरेको कुराकानीको सारसक्षेप ।
टोखा नगरपालिकाले स्थानीय तहको दोस्रो निर्वाचनबाट कुन क्षेत्रलाई प्राथमिकता दिएको छ ?
टोखा नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पूर्वाधार विकासमा सडक विस्तार, सडक स्तरउन्नती, खानेपानी व्यवस्थापनलगायत विभिन्न योजनाहरूमा काम गरिरहेका छ । नगरपालिकाको संरचनागत विकास पनि प्राथमिकतामा राखिएको छ ।
नगरपालिकाले प्रदान गर्ने सेवाहरूलाई अझ सुदृढ, पारदर्शी, जनमैत्री बनाउँदै छिटो छरितो रूपमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखेका छौँ ।
नगरपालिकाले कानुन निर्माणलाई पनि प्राथमिकता राखेको छ । समयमा कानुन निर्माण भएन भने सेवा प्रवाहमा पनि समस्या आउँदो रहेछ । र सेवा प्रवाह प्रभावकारी नहुँदो रहेछ । सेवा प्रवाह प्रभावकारी बनाउनका लागि कानुन निर्माणलाई तीव्रता दिएका छौँ । नगरपालिकाले ऐन, नीति, रणनीति, कार्यविधि, फ्रेमवर्कसँग सम्बन्धित १५ वटा कानुनहरू निर्माण गरिसकेको छ । यसै गरी १६ वटा कानुन बन्दै छन् । आवधिक योजना जारी ग¥यौँ । र आवधिक योजना जारी गरेपछि एमटिएफ बनाएर त्रिपक्षीय बजेट खर्चको मोडालिटी तयार गर्दै छौँ । इन्टरनल कन्ट्रोल सिस्टम निर्माण गरेर नगरपालिकाको आर्थिक जोखिम न्यूनीकरण, अन्तर शाखा समन्वय, शाखागत सेवा प्रवाहलाई चुस्त बनाउने काम भएको छ ।
सूचना र प्रविधिको विकाससँगै नगरपालिकाको कामलाई कसरी प्रविधिमैत्री बनाइँदै लगिएको छ ?
नगरपालिकाका सबै शाखा र वडा कार्यालयहरूबाट प्रदान गरिने सेवालाई आइसिटी वेस सर्भिस डेलिभरीको रूपमा विकास गर्नका लागि सफ्टवेयरहरू निर्माण भएका छन् भने केही निर्माणका क्रममा छन् । लेखालाई व्यवस्थापन गर्नका लागि संघीय सरकारद्वारा जारी गरिएको सूत्र प्रणाली लागू गरिरहेका छौँ । राजस्वलाई आइसिटी वेस बनाउनका लागि वेभवेस सिस्टम, आरएमएस सिस्टम लागू गरेका छौँ ।
शिक्षा र स्वास्थ्यसम्बन्धी धेरै सफ्टवेयरहरू प्रयोगमा ल्याएका छौँ । वडा कार्यालयहरूबाट पञ्जीकरण सम्बन्धी सेवा आइसिटी वेस सिस्टमहरूको प्रयोगबाट सेवा प्रवाह गरिरहेका छौँ । नगरपालिकाले गर्नुपर्ने विभिन्न प्रकारका सिफारिसहरू अनलाइन मार्फत डिजिटल सिस्टम मार्फत गर्ने गरेका छौँ । कर्मचारीहरूको डिजिटल हाजिरीको व्यवस्था गरेका छौँ ।नगरपालिकाको डाटा बेसलाई सुदृढीकरण गर्ने काम गरिरहेको छ । १३ वटा शाखाबाट प्रदान गरिने सेवालाई एकीकृत सिस्टम तथा सफ्टवेयरको माध्यमबाट सेवा प्रवाह गर्ने उद्देश्यले म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम बनाउँदै छौँ, जुन इन्टिग्रेटेड सिस्टम हुन्छ । यो सिस्टम बनिसकेपछि हामीले रेड बुक पनि वेभ वेस बनाउने तयारीमा छौँ । प्रोजेक्ट बैंक बनाउने छौँ । न्यायिक समिति पनि आइसिटी वेस बनाउने तयारीमा छौँ । यसको उद्देश्य पारदर्शी सेवा, घरदैलो सेवा, छिटो छरितो सेवा बनाउने नै हो । यसले नगरपालिकाको सेवा प्रवाह प्रणाली प्रभावकारी बनाउने छ । निर्माण भएका सफ्टवेयर नगरपालिकाकै स्वामित्वमा रहुन् भन्नका लागि सर्भर रुमको व्यवस्थापन गर्दै छौँ ।
सेवाग्राहीलाई कसरी प्रभावकारी सेवा प्रवाह गर्ने गरिएको छ ?
नगरपालिकामा २०५ जना कर्मचारीहरू र करिब एक सय शिक्षकहरू कार्यरत हुनुहुन्छ । प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता भएको छ । हरेक आर्थिक वर्षमा हरेक कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्दा आफ्नो शाखा र आफू मातहतका योजनामा ८० प्रतिशत प्रगति गर्नुपर्ने भनिएको छ । कार्य सम्पादन सम्झौताले विनियोजित बजेट अनुसार लक्ष हासिल गर्ने उद्देश्य पूरा हुने अपेक्षा नगरपालिकाको छ । कर्मचारीको क्षमता विकासका लागि पनि जोड दिइएको छ । समय–समयमा जनप्रतिनिधि र कर्मचारीहरूलाई क्षमता विकास सम्बन्धी तालिम प्रदान गर्ने गरिएको छ । नगरपालिकाको आवश्यकता र औचित्यलाई आधार बनाएर कर्मचारीको संख्या एकिन गर्नका लागि ओएनएम गर्ने काम भइरहेको छ । यसको उद्देश्य हरेक शाखा र कर्मचारीको कार्य विवरण स्पष्ट पार्ने हो । यसले अस्थिर प्रकारको परिवर्तन भइरहने सङ्गठन संरचनालाई सुधार गर्ने र स्थायीत्व प्रदान गर्नका लागि हो ।
भएका दरबन्दी मिलान गर्ने र बढी भएका दरबन्दी कटौती गर्ने गरी दरबन्दी मिलान गर्ने काम गर्दै छौँ । यो वर्ष ओएनएमको पुनरावलोकन गर्ने काम भइरहेको छ । यसैगरी नगरपालिकाले गरेको ओएनएम सर्भेको प्रतिवेदन प्राप्त भएको छ । यो सर्भेले सङ्गठन संरचनालाई निदृष्ट गर्ने छ । प्रत्येक कर्मचारी र शाखाले गर्नुपर्ने कामलाई निदृष्ट गर्ने छ ।
सुशासनको प्रत्याभूति जनतालाई गराउन अनुगमन प्रणालीलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाएका छौँ । कर्मचारीहरूका आचरण सम्बन्धी कानुन र नीतिहरू निर्माण भएका छन् । जसले कर्मचारीहरूको व्यवहार परिवर्तन नभएसम्म पालिकाले दिने सेवा प्रवाह जनताले अनुभूति गर्ने हुँदैन भनेर नै कर्मचारीको व्यवहार परिवर्तन गर्नका लागि नगरपालिका अन्तर्गतका निकायहरूमा सहायता कक्षको व्यवस्थापन गर्दै छौँ । यसको तयारी भइरहेको छ । कुन शाखाबाट कस्तो सेवा प्रवाह हुन्छ, कुन कर्मचारी कहाँ छ, सेवा प्राप्त गर्नका लागि कानुनी रूपमा कुन कुन प्रक्रिया पूरा गर्नु पर्छ जस्ता विषयहरू व्यवस्थित गर्नका लागि सहायता कक्षको व्यवस्थापन गरिएको हो । सहायता कक्षमा बस्ने कर्मचारीलाई तालिम दिएर यो सेवालाई व्यवस्थित बनाउने योजना बनाएका छौँ ।
नगरपालिका सहरीकरण तीव्र बन्दै गइरहेको अवस्थामा फोहोर व्यवस्थापन र वातावरण संरक्षणका क्षेत्रमा केके काम भएका छन् ?
फोहोरमैला व्यवस्थापन, दिगो विकास, वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । फोहोरमैला व्यवस्थापनका लागि आवश्यक कानुन निर्माण भएका छन् । नगरपालिकामा कति फोहोर उत्पादन हुन्छ ? र त्यसको प्रवृत्तिगत विश्लेषणका लागि अध्ययन भइरहेको छ । समग्र नगरपालिकामा कुन कुन प्रकारको फोहोर उत्सर्जन हुन्छ ? सड्ने खालको र न सड्ने खालको फोहोर कति उत्सर्जन हुन्छ ? लगायत सबै प्रकारका फोहोरबारे तथ्याङ्कगत अध्ययन गर्न खोजिएको छ । यो अध्ययनपछि व्यवस्थापनका लागि आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्न सहज हुनेछ । नगरपालिकामै प्लान्ट जडान गर्ने योजना छ ।वातावरण संरक्षणका लागि विभिन्न मापदण्डहरूसँगै रणनीतिक कार्य योजना बन्दै छ । नगरपालिकाकै वातावरण संरक्षण ऐन, वातावरण संरक्षणको प्रारूप लगायतका विभिन्न कानुनहरू निर्माणको क्रममा छन् । वातावरण संरक्षणका लागि वृक्षारोपण अभियान सञ्चालन भइरहेको छ । सडकको दुवैतर्फ बिरुवा रोपेर हरियाली प्रवर्द्धन गर्ने काम गरेका छौँ ।
आर्थिक र सामाजिक विकास भएका कामहरु केके हुन् ?
सामाजिक विकासलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न योजना र कार्यक्रमहरू गर्दै आएको छ । पालिकालाई आर्थिक विकास र आत्म निर्भर बनाउन काम भएका छन् ।
सबै व्यवसायीलाई कारको दायरमा ल्याउनका लागि गत असोजमा कर सप्ताह कार्यक्रम गरेका छौँ । काठमाडौँ उपत्यकामा कर सप्ताह गर्ने पालिकामा टोखा पहिलो हो । करदातालाई कर शिक्षा प्रदान गरिएको छ । जनप्रतिनिधि, कर्मचारी, व्यवसायी यसबाट लाभान्वित भएका छन् । व्यवसाय दर्ता सम्बन्धी कार्यविधि बनाएका छौँ । चैत महिनामा व्यवसाय दर्ता अभियान सञ्चालन हुँदैछ । पसल–पसलमा गएर व्यवसाय दर्ता गर्दैछौँ । यसका लागि जनप्रतिनिधि एक, कर्मचारी एक, नगर प्रहरी एक र विद्यार्थी दुई जना रहने गरी टिम तयार भएको छ । ठूलो वडामा दुई वटा र सानो वडामा एउटा टिम खटिने छ । यसको उद्देश्य सबै व्यवसायलाई करको दायरामा ल्याउनु हो । सबै व्यवसाय दर्ता भएपछि नगरपालिका पनि आत्मनिर्भर हुनेछ । सबैलाई करको दायरामा ल्याउन पालिकाले छुटको व्यवस्था पनि गरेको छ । म आएपछि ग्रान्डी इन्टर नेश्नललाई करको दायरमा ल्याएका छौँ । उसले साढे चार करोड रुपैयाँ तिर्दै छ । अन्य ठुला करदातालाई पनि करको दायरामा ल्याउँदै छौँ ।
नगरपालिकाको आन्तरिक स्रोतबाट ३० करोड रुपैयाँ उठ्ने गरेको छ, यसमा यो वर्ष १० करोड रुपैयाँ थप हुने लक्ष लिइएको छ । नगरपालिकाले आफ्नो आन्तरिक स्रोत परिचालन बढाउने गरी काम गरिरहेको छ ।