चाँगुनारायण नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिरहेको छ ।
ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिका मध्ये चाँगुनारायण नगरपालिका ऐतिहासिक एवं पर्यटकीय संभावनायुक्त नगरपालिका हो । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि विकास निर्माण र सेवा प्रवाह प्रभावकारी रुपमा अगाडि बढिरहेको यस चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले हालै सम्पन्न नगरसभामा प्रस्तुत गर्नुभएको सम्बोधनलाई आधार बनाएर हाम्रा संवाददाताले तयार गरेको अन्तवार्ताको सारसंक्षेप
नगरसभाका निर्णय अहिले नगरपालिकाले कसरी कार्यान्वयन गरिरहेको छ ?
चाँगुनारायण नगरपालिकाले गत २०७९ साल बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचानबाट निर्वाचित जनप्रतिनिधिले नगरपालिकालाई समृद्ध बनाउने अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाको भौगोलिक, सामाजिक, साँस्कृतिक तथा जैविक विविधता र पर्यटकीय स्थलको प्रचुर संभावना छ । नगरपालिकाले २०८० असारमा सम्पन्न नगरसभाले उक्त संभावनालाई समृद्धीमा रुपान्तरण गर्ने गरी नीति, कार्यक्रम र बजेट निर्माण गरेको र अहिले नगरपालिकाले उक्त नीति तथा कार्यक्रम धमाधम कार्यान्वयन गरिहेको छ ।
नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक विकासको कामलाई कसरी प्राथमिकता दिएको छ ?
हाम्रो चाँगुनारायणलाई राम्रो चाँगुनारायण बनाउनको लागि नगरपालिकाका विकास आयोजना, परियोजना सम्बन्धी नीति, ऐन, कानून, नियम र निर्देशिका निर्माण, कार्यान्वयन, अनुगनम मूल्याङ्कन र नियमन गरी भौतिक पूर्वाधार निर्माण, सामाजिक र सांस्कृतिक विकासका साथै मानवीय विकास तर्फ फड्को मार्ने चरणमा हामी प्रवेश गरेको छौं । भौतिक पूर्वाधार विकास तर्फ मूलपानी चाँगु, छालिङ नाटेश्वरी हुदै नगरकोट निक्लने बाटो, सैनिक व्यारेकदेखि छालिङ जोड्ने सडक कालोपत्रे, दुवाकोट मूल सडक कालोपत्र कार्य प्रारम्भ भईसकेको छ । उक्त सडकको बाँकी खण्ड चांडै कालोपत्रे संचालनमा आउने छ । भौतिक पूर्वाधारका अन्य कार्यहरु भएका र हुँदै गरेको छन् । चाँगुनारायण फाष्ट ट्रयाकको निर्माण कार्य अघि बढेको छ । खस्याङ खुसुङ–घट्टेखोला करिडोर निर्माणको कार्य प्रारम्भ हुने चरणमा पुगेको छ । अहिले चाँगुनारायणमा भौतिक पूर्वाधार र सामाजिक विकासको काम तीव्र गतिमा अगाडि बढिरहेको अवस्था छ ।
नगरपालिकाले सेवा प्रवाहलाई कसरी प्रविधिमैत्री बनाउँदै गएको छ ?
नगरपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुचारु गरेको छ । नगरबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री वनाई अझै सरल, सहज र सुलभ रुपमा सबै नगरवासीको पहुंच स्थापित गर्ने गरी अहिले हामीले काम गरिरहेका छौं । त्यस्तै गुणस्तरीय कार्यसम्पादन सहित नगरवासीको सन्तुष्टि र आवश्यकताको उच्च कदर गर्दैआजको नेतृत्व अघि बढि रहेको छ । स्थानीय शासन पद्धति बमोजिम जनहितकारी कार्य गरी स्थानीय शासन सञ्चालनको मार्गदर्शक नगरपालिका बनाउनको लागि सबै साझेदारको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गरिएको छ ।
विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिरको संरक्षण गर्ने कार्यलाई नगरपालिकाले कसरी अगाडि बढाएको छ ?
स्थानीय तहको निर्वाचनपछि भएका विभिन्न नगरसभा तथा कार्यपालिकाबाट तय भएका लक्ष्यहरुले पूर्णता पाउदै गएको छन् । विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक एवं पुरातात्वतिक महत्वको चाँगुनारायण मन्दिरको बृहत्तर गुरु योजना निर्माण गरी यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने तर्फ हामी अग्रसर भइरहेका छौं । चाँगुनारायण मन्दिर क्षेत्रलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी नगरपालिकाले काम गरिरहेको छ ।