ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले सबै वडास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरी गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ गरेको छ । फागुन ११ गते गाउँपालिकाले पालिकास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माण तथा सेवा प्रवाह लगायतका विषयमा गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, राजनीतिकदलका प्रतिनिधि,कर्मचारी, शिक्षक,स्वास्थ्य संस्थाका प्रतिनिधिलगायतका उपस्थितिमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।
फागुन महिनाको सुरुवातदेखि गाउँपालिकाले वडास्तीय सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले वडास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरी पालिकास्तरीय सार्वजनिक सुनुवाइ गर्ने कोन्ज्योसोम गाउँपालिका पहिलो भएको दावी गरे । अन्य पालिकाले पालिकास्तरीय मात्र सार्वजनिक सुनुवाइ गर्दै आएकोमा कोन्ज्योसोम गाउँपालिकाले भने वडास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरी पालिका स्तरीय सार्वजनिक सुनुवाइ गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन र सुशासन सम्बन्धि ऐनमा स्थानीय तहले वार्षिक रुपमा गरेका कार्यको बारेमा सेवाग्राहीसहितको सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार कोन्ज्योसोम गाउँपालिकाले वडास्तरीय र हँुदै गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सहभागिहरुले गाउँपालिकाले सबै वडामा विकास निर्माणको कामलाई समान रुपमा अगाडि बढाउनुपर्ने, भौतिक विकाससँगै मानविय विकास, शिक्षा, स्वास्थ्य रोजगार, गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवालाई सहज र अझ व्यवस्थित बनाउनुपर्ने लगायतका गुनासो राखेका थिए ।
सहभागिले राखेको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष राजनप्रसाद घिमिरेले सार्वजनिक सुनुवाइमा उठेका सवाललाई गाउँपालिकाले नीतिगत र व्यवहारिक रुपमा सम्बोधन गर्ने बताए ।