काठमाडौँ । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् । संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) र ऋण उपसमिति सदस्य अस्मिता भण्डारी पक्राउ परेका हुन् । उनीहरूलाई मंसिर २ गते सुनसरीस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार सहकारी ठगी, संगठीतठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी उक्त मुद्दामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ बिगो कायम गरिएको छ । मुद्दामा पीडितको सङ्ख्या १७ हजार १० रहेको र ४ हजार २४३ जनाले जाहेरी दिएको प्रहरीले जनाएको छ ।
धरानमा मुख्य कार्यालय रहेको सहकारीसँग आबद्ध गरी नेपालमा ३० र विदेशमा चार कम्पनी स्थापना गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । ती कम्पनी स्थापना गरी सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा मुद्दा चलेको हो ।
पक्राउ परेका ४५ वर्षीय विश्वकर्मा सहकारीका संस्थापक हुन् । धरान-१५ की ३३ वर्षीया भण्डारी सहकारीको ऋण उपसमितिकी सदस्य तथा ग्राहक सेवा शाखाकी कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।