काठमाडौँ । आईजीपीमा पुनर्वहाली माग गर्दै दानबहादुर कार्कीद्वारा दायर रिटमा सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु पर्ने नपर्ने निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।
आफूलाई कुनै पूर्वसूचना र सुनुवाइको मौका नदिई प्रहरी ऐन २०१२ र नियमावली २०७१ विपरीत पदबाट हटाइएको जिकिर गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
उनले सरकारको निर्णय बदर गरी आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म नवनियुक्त आईजीपी केसीलाई कामकाज गर्नबाट रोक लगाउन अन्तरिम आदेशको माग गरेका छन्।