काठमाडौं । रसुवागढी नाका बाढीका कारण बन्द भएपछि चीनसँगको व्यापार र आवागमन सहज बनाउन नेपालले तातोपानी नाका तत्काल खोल्न आग्रह गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलसँग तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह गरेका हुन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा ‘चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङसँगको भेटमा मन्त्री खनालले नाका खुलाउन आवश्यक समन्वय गरिदिन अनुरोध गरेको मन्त्रालयले जनाएको छ।
गत भदौमा आएको बाढीले रसुवागढी नाका बन्द भएको र चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू पनि चिसोका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा तातोपानी नाका महत्त्वपूर्ण विकल्प बनेको मन्त्री खनालले बताएका थिए।
उनले तातोपानी नाका काठमाडौंसँग सबैभन्दा कम दूरीमा रहेको र नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धको प्रतीकसमेत भएकाले तत्काल सञ्चालन आवश्यक रहेको बताए। नाका खुल्दा दुई देशबीचको व्यापार र आवागमन सहज हुने नेपालको अपेक्षा छ।
जवाफमा अध्यक्ष याङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी दिएका थिए। भेटमा नेपाल–चीन व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध र शिक्षालगायत विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।