काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् ।
उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित ।’ आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले स्पष्ट पारेकी छन् ।
पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले यसअघि रास्वपाबाट प्रतिनिधिसभा सदस्य बनेर शिक्षा क्षेत्रमा काम गरेकी थिइन् । उनको उम्मेदवारी घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वका लागि हुने प्रतिस्पर्धाबारे चर्चा सुरु भएको छ ।