पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी । चाडपर्वमा फूलको माग बढ्दै गएपछि पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ मिश्रौलीमा गरिएको व्यावसायिक सयपत्री खेतीले राम्रो बजार पाएको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको खेतीबाट पहिलो वर्षमै उत्साहजनक आम्दानी हुन थालेको छ।
नेपाल सरकारका पूर्वउपसचिव तथा लुम्बिनी प्रदेशको सिँचाइ महाशाखाका पूर्वप्रमुख धु्रव पौडेल र होटल व्यवसायी नारायण न्यौपानेले संयुक्त लगानीमा फूल खेती सुरु गरेका हुन्। उनीहरूले भविष्यमा एकीकृत कृषि प्रणाली सञ्चालन गर्ने योजनासहित ६ बिघा जग्गा भाडामा लिएर ‘रिभर साइड एग्रो भिलेज एन्ड रिसोर्ट प्रालि’ स्थापना गरेका छन्।
पहिलो चरणमा १५ कट्ठा जग्गामा गरिएको सयपत्री खेतीले अपेक्षाभन्दा राम्रो बजार पाएको पौडेलले बताए। उनका अनुसार लक्ष्मीपूजासम्म ८ देखि १० क्विन्टल फूल र १ हजार ५०० भन्दा बढी माला बिक्री भइसकेका छन्। तिहारसम्म मागअनुसार फूल आपूर्ति गर्न कठिन हुने अवस्था देखिएको उनले बताए।
‘३०–३५ वर्ष सरकारी सेवामा बिताएपछि अवकाशको समयलाई पनि उत्पादन र देश सेवासँग जोड्ने सोच बनाएँ,’ पौडेलले भने, ‘चाडपर्वमा विदेशबाट आयात हुने फूललाई स्वदेशी उत्पादनले प्रतिस्थापन गर्नुपर्छ भन्ने उद्देश्यले खेती सुरु गरेका हौं।’
पहिलो वर्ष परीक्षणका रूपमा गरिएको खेती सफल भएपछि आगामी दिनमा उत्पादन विस्तार गर्ने योजना रहेको उनले बताए। कृषि उत्पादनमा जोडिँदा आर्थिक लाभसँगै आफ्नै गाउँको माटोमा काम गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उनको भनाइ छ।
फर्मको बजार व्यवस्थापन र कृषि गतिविधिको जिम्मेवारी सम्हालिरहेका न्यौपानेका अनुसार उत्पादित फूल बुटवल, भैरहवा, परासी, सेमरी, गोपीगञ्ज, जिमिरेभार र बर्दघाटलगायतका बजारमा बिक्री भइरहेको छ। स्थानीय उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले अन्य बाहिरी व्यापारी तथा थोक बिक्रेताको तुलनामा १५ देखि २० प्रतिशतसम्म सहुलियतमा फूल बिक्री गरिएको उनले बताए।
‘पहिलो प्रयासमै उत्पादन र बजारको माग उत्साहजनक देखिएको छ,’ न्यौपानेले भने, ‘फूलको माला बनाउने काममा स्थानीय महिलालाई प्रतिमालाका दरले पारिश्रमिक दिएर रोजगारीसमेत दिएका छौं।’
पहिलो वर्षको सफलताले उत्साहित बनेका सञ्चालकले ६ बिघा क्षेत्रफलमा फूल खेतीसँगै अन्य कृषि उपज तथा फलफूल उत्पादन विस्तार गर्ने योजना बनाएका छन्। त्यसका लागि जिल्ला कृषि ज्ञान केन्द्र, प्रदेशको कृषि मन्त्रालय, कृषि निर्देशनालय तथा कृषि जोन केन्द्रबाट प्राविधिक र व्यावसायिक सहयोगको अपेक्षा गरिएको उनीहरूले बताएका छन्।
मिश्रौलीमा सुरु गरिएको यो व्यावसायिक फूल खेतीले स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन र स्थानीय स्तरमै रोजगारी सिर्जनाको सम्भावना देखाएको छ।