भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै नेपाली जनताका शत्रु भएको बताएका छन् ।
नेपाल संवत् ११४७ नयाँ वर्षका अवसरमा भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलहरूले भ्रष्टाचार गरेर देश डुबाएको र नयाँ भनिएका दलले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देश जलाएको आरोप लगाए । दुवै प्रवृत्तिबाट देशको विकास र समृद्धि सम्भव नहुने उनको भनाइ थियो ।
सुवालले देशमा भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने बताए । प्रधानमन्त्री इमानदार भए मन्त्रीहरूले भ्रष्टाचार गर्न नसक्ने र मन्त्रीहरू इमानदार भए प्रशासनिक तहमा पनि भ्रष्टाचार नियन्त्रण हुने उनको तर्क थियो ।
उनले १७ वर्षअघि भक्तपुर मालपोत कार्यालयमा तत्कालीन मन्त्री निरीक्षणमा आउँदा कार्यालयका प्रमुखले घुसबापतको रकम प्रधानमन्त्रीसम्म पुग्ने गरेको बताएको प्रसंग स्मरण गरे । ‘हामी प्रधानमन्त्रीसम्म पुर्याउँछौँ, राष्ट्रपतिसम्म पुग्छ कि पुग्दैन, त्योचाहिँ थाहा भएन’ भन्दै तत्कालीन मालपोत प्रमुखले जवाफ दिएको र त्यसमा मन्त्रीले केही बोल्न नसकेको उनले बताए ।
अर्को प्रसंगमा सुवालले नेपाल मजदुर किसान पार्टीले चुनाव हार्नु भनेको नेपाली जनताले हार्नु भएको दाबी गरे । भारतले सीमा अतिक्रमण गर्दा तथा देशमा भ्रष्टाचार हुँदा अन्य राजनीतिक दल र तिनका नेताहरूले आवाज नउठाएको आरोप लगाउँदै उनले सबै दल मिलेर खाने प्रवृत्ति रहेको बताए ।
उनले नेपाल संवत् नयाँ वर्षलाई पात्रो परिवर्तनका रूपमा मात्रै नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्ने बताए । संस्कृति संरक्षण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्चार तथा ४६औँ नेपाल भाषा साहित्य सम्मेलन आयोजक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांलगायतले मन्तव्य राखेका थिए ।
नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना र्याली आयोजक समितिको आयोजनामा भएको र्यालीमा सयौँ बाजागाजा समूहसहित हजारौँको सहभागिता थियो ।
भक्तपुरको सूर्यमढी र टौमढीबाट छुट्टाछुट्टै सुरु भएका र्याली नगरका विभिन्न टोल तथा बजार परिक्रमा गर्दै भक्तपुर दरबार क्षेत्रस्थित खौमामा पुगेर सभामा परिणत भएका थिए । सहभागीहरूले नेपाल भाषा, साहित्य र समाज सुधारमा योगदान पुर्याएका जगतसुन्दर मल्लको सालिकमा फूलमाला अर्पण गरेका थिए ।
र्यालीमा परम्परागत बाजागाजा, सांस्कृतिक समूह तथा विभिन्न जातजातिका मानिस सहभागी थिए । गीत, संगीत, नृत्यलगायत सांस्कृतिक प्रस्तुतिसमेत गरिएको कार्यक्रममा सयौँ कलाकार सहभागी भएका थिए ।