काठमाडौँ । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।
नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएकाे इतिहास छ । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो ।
लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।